काठमाडौं : नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरेको एक सातापछि लामिछानेले प्रतिक्रिया दिएका छन्। लामिछाने दशैंको टीकाको भोलिपल्ट (असोज २०) गते काठमाडौं आउने बताएका छन्। सन्दीपले आफ्नो फेसबुक पेजमार्फत उक्त जानकारी दिएका हुन्।
‘ठुलो आशा र हिम्मतका साथ, अक्टोबर ६ मा म नेपाल पुग्ने पक्का भएको जानकारी गराउँदछु। अनि म विरुद्ध लागेको झुटो मुद्दाको कानुनी लडाई लड्नेछु,’ लामिछानेले फेसबुकमा लेखेका छन्।
धेरैलाई चासोको विषय बनेको छ- सन्दीप नेपाल फर्किएपछि के गर्छ प्रहरीले?
सन्दीप विरुद्ध प्रहरीले जिल्ला अदालतबाट पक्राउ पूर्जीसमेत जारी गरेको छ। त्यही आधारमा प्रहरीले आफ्ना निकायहरूमा जहाँ देखे पनि पक्राउ गर्नु भन्ने परिपत्रसमेत गरेको छ। विदेशमा भएकाले विदेशबाट फर्कने बित्तिकै विमानस्थलबाट पक्राउ गर्न विमानस्थल प्रहरीलाई समेत पत्राचार भइसकेको छ। जसको आधारमा अध्यागमन विभागले सन्दीपको राहदानी नम्बरसहित आफ्नो सुचीको ब्ल्याक लिस्टमा चढाएको छ। उनी विमानस्थलमा अवतरण भएर अध्यागमनमा पुग्ने बित्तिकै उनलाई अध्यागमनले प्रहरीको जिम्मा लगाउने छ। त्यसपछि विमानस्थल प्रहरीले उनलाई त्यहीबाट नियन्त्रणमा लिने छ।
विमानस्थल प्रहरीले जिल्ला प्रहरी परिसर काठमाडौँलाई बुझाउने छ। भदौ १२ गते उजुरी महानगरीय प्रहरी वृत्त गौशालामा परेको थियो। घटनास्थल पनि गौशाला कृतकै क्षेत्रमा पर्ने भएकाले अनुसन्धान पनि गौशाला प्रहरीले गर्ने छ। त्यसैले सन्दीपलाई गौशाला वृत्तमा नियन्त्रणमा राखिनेछ। सुरक्षा, संवेदनशीलताको आधारमा अन्य वृत्तमा पनि प्रहरीले राख्न सक्छ। काठमाडौं प्रहरी परिसर अन्तर्गत मुद्दा चल्ने १४ वटा वृत्तमा हिरासत रहेका छन्।
‘हामीले अहिले पनि अनुसन्धान गरिरहेका छौँ। बाँकी अनुसन्धान पनि कानुनी प्रक्रिया अन्तर्गत नै गर्ने छौँ,’ काठमाडौं प्रहरी प्रमुख भरतबहादुर बोहराले भने।
पक्राउ गरेको २५ दिनभित्र प्रहरीले सन्दीपको केस सरकारी वकिलमार्फत अदालतमा पुर्याउनुपर्ने हुन्छ। उजुरी अनुसार नै प्रमाण भेटिएको खण्डमा प्रहरीले आफ्नो रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गर्ने छ। प्रहरीको अनुसन्धान चित्त बुझेको खण्डमा मात्रै सरकारी वकिल कार्यालय मुद्दा अदालतमा टेकाउँछ। त्यसपछि अदालतमा बहसपछि लामिछानेलाई साधारण तारिकमा रिहा गर्ने, धरौटी माग गर्ने वा पुर्पक्षको लागि जेल चलान गर्ने एउटा आदेश अदालतले दिने छ।
साधारण तारिक बाहेक दुई वटा आदेश आएको खण्डमा लामिछाने पुनः खेल र कप्तानमा फर्किने सम्भावना शून्य भएर जानेछ।

