काठमाडौँ — लामो बहसपछि अन्तत: काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासबाट बिहीबार साँझ कमेडियन अपूर्व क्षितिज सिंहलाई अढाई लाख धरौटीमा रिहाइ गर्ने आदेश हुँदा घाम अस्ताइसकेको थियो ।
आदेश आउनु बित्तिकै अपूर्वका आफन्त र शुभचिन्तक पैसाको जोहो गर्न निक्लिए । आदेश आउने बित्तिकै प्रहरीले अपूर्वको हातमा रहेको हतकडी खोलिदियो । उनका कानुन व्यवसायी अधिवक्ता शान्तिराम खतिवडाले हतारहतार अदालत प्रशासनबाट आदेशको एक प्रति निकाले र रिहाइको प्रक्रिया टुंग्याए ।
लामो प्रक्रियापछि धरौटीमा छुटेका अपूर्वको मुहारमा भने हाँसो गायब थियो । इजलास बाहिरको एउटा कुनामा बसेका उनका आँखामा आँसु थियो भने बोलीमा कम्पन ।
आफ्नो कमेडीलाई गलत बुझिएकामा र भिडियो डिलिट गरेर माफीसमेत मागिसकेको अवस्थामा राज्यले गरेको क्रुर व्यवहारका कारण उनको मन कुँडिएको छ । भन्छन्, ‘म यो सहरमा असुरक्षित लाग्न थालेको छु । तर पनि यहीँ बस्छु । बोल्न पनि डर लाग्न थालेको छ तर पनि हिम्मत हारेको छैन, कुनै दिन फेरि कमेडी गर्नेछु ।’

