राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन भएका छन् । शुक्रबार राति बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठकले श्रममन्त्री समेत रहेका उपसभापति अर्याललाई कार्यवाहकको जिम्मेवारी दिने निर्णय गरेको हो ।
प्रवक्ता मुकुल ढकालका अनुसार बैठकले सभापति रवि लामिछानेको नागरिकताको सम्बन्धमा सर्वोच्चले गरेको फैसला मानेर अघि बढ्ने निर्णय पनि भएको छ । बैठकले संसदीय दलको नेता पनि अर्याललाई नै बनाउने निर्णय भएको छ ।
शुक्रबार सर्वोच्च अदालतले सभापति रवि लामिछानेको नागरिकता अवैध ठहर गर्दै लामिछाने सांसदबाट पदमुक्त हुने फैसला गरेको थियो । लगत्तै लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएका थिए । कानुनअनुसार उनी पार्टीको सभापति बन्न पनि अयोग्य हुने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक सभापति चयन गरेको हो।

