ठगी आरोपमा जेल चलान भएका पृथ्वीबहादुर शाह र उनको समूहमा रहेका १९ जना व्यक्तिविरुद्ध चार वटा मुद्दा चलाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुझाव दिएको छ।
सीआईबीले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शाह, उनका भाइ विजयविक्रम शाहसहितका समूहलाई व्यक्तिविरुद्ध ठगी, लिखतसम्बन्धी कसूर, सहकारी ठगी र संगठित अपराधविरुद्ध मुद्दा चलाउनुपर्ने अनुसन्धानबाट खुल्न आएको जानकारी गराएको हो ।
अमेरिकी नागरिकहरू ठगिएको उजुरी नेपालस्थित अमेरिकी राजदूतावासले नै जानकारी गराएपछि पृथ्वीबहादुर शाहसहितका ७ जनालाई पक्राउ गरी अनुसन्धान गरिएको थियो ।
अनुसन्धानमा उनीहरूले ठगीबाट आर्जन गरेको सम्पत्ति घर, जग्गालगायत कारोबारमा लगानी गरेको पनि खुल्न आएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए।
घटनामा संलग्न पृथ्वीसहित ७ जना पक्राउ परेका छन भने अन्य १३ जना फरार रहेका छन्।
घटनामा संलग्न सबैलाई पीडितलाई क्षतिपूर्ति दिलाई ७ वर्ष कैद र ७० हजार जरिवाना हुने कानुनी व्यवस्था गरेको पनि प्रवक्ता थापाले बताए। उनले उनीहरूमाथि सहकारी ऐनअनुसार छुट्टै दण्डसजाय व्यवस्था पनि हुन सक्ने कानुनी व्यवस्था गरेको बताए।
उनीहरूले ठगीबाट आर्जित रकम ३८ करोड, ८६ लाख ६२ हजार १३६ रुपैयाँ रहेको खुल्न आएको छ ।
उनीहरूविरुद्ध हालसम्म २४ जना पीडितले नेपालस्थित अमेरिकी दुतावासमार्फत उजुरी दिएका छन् ।
केही क्यानाडियन र बेलायती नागरिकहरू पनि उनीहरूबाट पीडित भएको खुल्न आएको र अनुसन्धानको काम शुरू गरिएको पनि प्रहरीले जनाएको छ ।
उनीहरूले अमेरिकी नागरिकसँग अमेजनको विल भुक्तानी, एन्टी भाइरस अपडेटलगायत विभिन्न निहुँमा सो रकम ठगी गर्ने गरेका थिए । ठगीमा पर्नेहरूमा प्रायः वृद्धवृद्धा रहेका पनि प्रवक्ता थापाले बताए।
शाहको समूहले ठगी गरी नेपाल ल्याएको रकममध्ये १ करोड २८ लाख ९३ हजार ८५ रुपैयाँ बैंकहरूले रोक्का गरिदिएको पनि सीआईबीको अनुसन्धानमा उल्लेख गरिएको छ ।

