काठमाडौँ– शुक्रबार संयुक्त इजलासको आदेशपछि प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि हत्या अभियोगमा छानबिन गर्न माग गर्दै परेको रिट निवेदन दर्ता भएको छ।
मंगलबार दर्ता भएको रिटको प्रारम्भिक सुनुवाइका लागि बिहीबार पेशी तोकिएको छ। दाहालले २०७६ सालको माघीमा टुँडिखेलबाट द्वन्द्वकालमा मारिएका पाँच हजार व्यक्तिको जिम्मा लिने अभिव्यक्तिलाई ‘हत्याको साविती’का रुपमा लिएर उनीमाथि छानबिनका लागि सम्बन्धित समक्ष आदेश दिन निवेदनमा गरिएको छ।
द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका घटनामाथि छानबिन गरेर न्याय निरुपण गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठन गर्ने कुरा विस्तृत शान्ति सम्झौतामा छ। ६ महिनाभित्र गरिने भनिएको उक्त काम अघि बढाउन सरकारले २०७१ मा आठ वर्षपछि मात्रै आयोग गठन गर्यो।
पछिल्लो आठ वर्षमा दुवै आयोगले उजुरी संकलन गर्नेबाहेक केही काम गरेका छैनन्। हाल दुवै आयोग निष्क्रिय अवस्थामा पुगेका छन्।
यसरी आयोग निष्क्रिय अवस्थामा पुगेर पीडितले नियमित अदालतमार्फत उपचार खोज्नुपर्ने अवस्थाको जिम्मेवार स्वयम् माओवादी नै भएको आरोप लाग्दै आएको छ। सरकारमा सधैँझै रहेको माओवादीले आयोगहरुलाई काम गर्न नदिएर राजनीतिक लाभहानिको विषय बनाएको छ।
माओवादीले आयोगलाई निष्प्रभावी पार्न खोज्नुको पछाडि दस वर्षे अवधिमा भएका जस्तासुकै घटनाका दोषीलाई आममाफी दिन खोज्नु पनि हो। तर पीडितहरुले त्यसलाई अस्वीकार गर्दै न्यायका निम्ति प्रयास जारी राखेका छन्।
निवेदकका आफन्त नै मारिएका थिए
न्याय माग्दै निवेदन बोकेर सर्वोच्च पुग्नेमा अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १५ जना छन्।
उनीहरुले ‘न्यायका लागि अरु विकल्प नभएपछि सर्वोच्च जानु परेको’ बताएका छन्। प्रचण्डमाथि छानबिनका लागि सामूहिक रुपमा अदालतको ढोका ढकढकाउनेहरु द्वन्द्वकालमा माओवादी पक्षबाट मारिएकाहरुको परिवार हुन्।
निवेदनक १५ जना परिवारका १७ जनालाई माओवादीले निर्ममता पूर्वक हत्या गरेको पाइएको छ। र, उनीहरुले त्यसको जिम्मेवार प्रचण्ड भएको जिकिर गरेका छन्।
सामूहिक न्यायका लागि नेतृत्व गर्ने रामेछापका स्थायी बासिन्दा अधिवक्ता आरणका बाबु टिकाराज आरणलाई माओवादीले नियन्त्रणमा लिएर हत्या गरेका थिए। उनले निवेदमा आफ्ना पितालाई माओवादीले अपहरण गरी यातना दिई गोली हानी हत्या गरिएको उल्लेख गरेका छन्। अर्का निवेदक जितेन्द्रकुमार मोक्तानका बाबु चण्डिलाल मोक्तानलाई पनि माओवादीले हत्या गरेका थिए।
उनलाई माओवादी पक्षले अपहरणपछि क्रूर यातना दिई खुकुरी तथा गोली प्रहार गरी हत्या गरेको थियो। उनका श्रीमति रेलीमाया मोक्तानलाई पनि माओवादीबाट मारिएकी हुन्।
माओवादीले गोली हानी हत्या गरिएका रामेछाप जिल्ला साँघुटारका गणेशकुमार श्रेष्ठका विजय श्रेष्ठ पनि रिटमा निवेदक छन्। माओवादी पीडित संघका अध्यक्ष गणेशदत्त चिलुवालकी पत्नी सावित्री शर्मा, खुकुरी प्रहार गरी मिति २०५६/९/३० मा हत्या गरिएका चन्द्रबहादुर तामाङको छोरा सलाम लामा, सिन्धुलीका माओवादीले अपहरण पछि वेपत्ता पारी मारेका वशिष्ठ कोइरालाका छोरा अञ्जनी कोइरालाले पनि न्यायका लागि रिटमा निवेदनमा सहभागी भएका छन्।
रामेछाप जिल्ला साँघुटारका गोली हानी हत्या लाश गायब पारिएका उज्जन कुमार श्रेष्ठ (भुवन) कोदिदी र गणेशकुमार श्रेष्ठकी बहिनी सावित्री श्रेष्ठ, २०५९/०६/१५ मा हत्या गरिएका विष्णुदत्त शर्मा दवाडीको छोरी सरला दवाडी, हत्या गरी र लाश नै बेपत्ता पारिएका उज्जनकुमार श्रेष्ठकी पत्नी लक्ष्मी श्रेष्ठलगायत पनि न्यायका लागि सर्वोच्च पुगेका छन्।

