काठमाडौँ– आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ ।
अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने, आर्थिक र उत्पादनको क्षेत्रमा भागीदारी हुने, सम्मानजनक श्रम र श्रम मूल्यमा समानता कायम हुनुपर्ने एजेन्डासहित मनाउने गर्छन् ।
नेपालमा जस्तै विश्वभरीका धेरैजसो देशले यस दिन सार्वजनिक बिदा दिने गरेका छन् । कतिपय देशले भने नारी दिवस फरक ढंगले मनाउने गरेका छन् जसको आफ्नै मौलिकता झल्किन्छ ।
रुसमा यस दिवसको अघिल्लो दिनदेखि फूलको व्यापार अन्य दिनभन्दा दोब्बर हुन्छ । मानौं भ्यालेन्टाइन डेलाई झल्को दिनेगरी एक अर्कालाई फूल दिएर नारी दिवस मनाइन्छ ।
इटलीमा भने यो दिन पहेँलो रङको फूल एकअर्कालाई दिएर मनाइन्छ । यो परम्परा दोस्रो विश्वयुद्धपछि रोमबाट थालिएको बताइन् ।
अमेरिकामा मार्च ८ लाई मात्र होइन मार्चभर नै महिलाको ऐतिहासिक महिना मानिन्छ । चीनमा भने नेपालमा जस्तै मार्च ८ मा महिलाहरूलाई आधा दिन बिदा दिइन्छ तर धेरै रोजगारदाताले आफ्ना महिला कर्मचारीलाई आधा दिन बिदा दिँदैनन् ।
चीनमा भने पछिल्लो समय रोजगारदाता कम्पनीहरूलाई राज्यले क्रमशः बिदा दिन बाध्य गराउँदै छ ।

