नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतिको निर्वाचनमा भोट क्रस हुने सम्भावना नरहेको बताएका छन्।
बिहीबार राष्ट्रपति निर्वाचनमा मतदान गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जनताबाट निर्वाचित भएका नेताहरु आफ्नो विचार र मान्यतामा दृढताका साथ उभिनेमा आफू विश्वस्त रहेको बताए।
नेताहरूले मूल्य र मान्यता, नैतिकताको राजनीति गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो।
अध्यक्ष नेपालले पार्टीमा नजोडिएका सांसदहरूले पनि आफ्नै मान्यताको आधारमा निर्णय गर्ने बताए।
‘जनताबाट निर्वाचित भएका नेताहरू आफ्नो विचार र मान्यतामा दृढताका साथ उभिन्छन् । मूल्य र मान्यता, नैतिकताको राजनीति गर्नेछन् । यसअर्थमा विभिन्न पार्टीसँग जोडिएकाहरू, पार्टी पार्टीको निर्देशनका आधारमा नजोडिएका स्वतन्त्र व्यक्तिहरू आफ्नै मान्यताको आधारमा निर्णय गर्दछन् । त्योभन्दा भिन्न ढंगले अरू कुरामा प्रभावित भएर चल्छन् जस्तो लाग्दैन ।’
राष्ट्रपतिको निर्वाचन अहिले जारी छ ।

