नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानव अधिकारको कुरा उठ्दा नेपालको राजनीतिको एउटा पक्षले बन्दुक उठाउने धम्की दिने गरेको बताएका छन् ।
मानव अधिकारको उल्लंघन गर्ने पक्षले नै धम्काइरहेको उनले टिप्पणी गरे ।
मानव अधिकार एलायन्सको सम्मेलनलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले माओवादी घटकका नेताहरूले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।
‘नेपालको राजनीतिको एक पक्ष आफूले भनेजस्तो भएन भने मानव अधिकार आयोगलाई धम्की दिन्छ । बन्दुकमा खिया लागेको छैन भन्छ । हामीले गरेको मानव अधिकार उल्लंघनको कुरा गर्ने भनेर प्रश्न गर्छ’, माओवादीप्रति कटाक्ष गर्दै ओलीले भने ।
सशस्त्र द्वन्दकालीन मुद्दा ब्युँताउन खोजिएको भन्दै माओवादी घटकले आयोजना गरेको कार्यक्रममा माओवादी नेता कृष्णबहादुर महराले बन्दुक उठाउने धम्की दिएका थिए ।

