काठमाडौं । सरकारले मिटब्याजी पीडितहरुसँग भोलि (बिहीबार) वार्ता गर्ने भएको छ । गृह मन्त्रालयका सह-सचिव नेतृत्वको समितिले पीडितलाई वार्ताका लागि बोलाएको हो ।
गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माले मिटरब्याज पीडितहरुलाई भोलि (बिहीबार) बिहान १० बजे सिंहदरबारमा बोलाइएको जानकारी दिइन् । ११ दिन हिँडेर काठमाडौं आएका पीडितहरुले आज दिनभर वार्ताको तयारी गर्दै बिताए ।
मिटरब्याज पीडित अधिकांशमा स्वास्थ्य समस्या देखिएको छ । निरन्तरको हिँडाइ र थकानले उनीहरुको स्वास्थ्य बिग्रिएको हो । आफूहरुका समस्या समाधानका लागि सरकार खोज्दै आएका पीडितहरु माग पूरा नभएसम्म घर नफर्कने अडानमा छन् ।
यस्तै मिटरब्याजबाट पीडितहरुको समस्याबारे संसद्मा आवाज उठेको छ । सांसदहरुले मिटरब्याजी पीडितको मुद्दा सम्बोधन गर्न सरकारले आलटाल गरेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरुले मिटरब्याजी पीडितहरुको मागलाई सम्बोधन गर्न सरकार गम्भीर नभएको आरोप लगाएका हुन् । कतिपय सांसदहरुले बैंकहरुकै कारण किसानहरु मिटरब्याजीको फन्दामा परेको सांसद कांग्रेस प्रदीप पौडेलले बताए ।
मधेस प्रदेशका मिटरब्याजी पीडित ११ दिन पैदल हिँडेर संघीय राजधानी आउँदासमेत सरकारले चासो नदिएको सांसदहरुको आरोप थियो ।

