काठमाडौं-
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ । आज शुक्रवार बिहान ८ बजेदेखि देशभर एकैसाथ परीक्षा सुरु हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । ‘परीक्षाको सबै तयारी पूरा भइसकेको छ, ७७ वटै जिल्लाका सबै जिम्मेवार निकायसँग अनलाइनमार्फत बैठक सम्पन्न भएको छ’, उहाँले भन्नुभयो, ‘परीक्षा शान्तिपूर्ण, मर्यादित र व्यवस्थितरूपमा सम्पन्न गराउन सबैमा आह्वान गर्दछौँ ।’ उहाँले सबै परीक्षा केन्द्रका लागि केन्द्राध्यक्ष नियुक्ति, सुरक्षा व्यवस्था, जनशक्ति परिचालन, प्रश्नपत्र र उत्तर पुस्तिका पुर्याउनेलगायतका सबै काम सकिएको जानकारी दिनुभयो ।
एसईईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयको आयोजनामा सात प्रदेशका प्रदेश सरकारका शिक्षा हेर्ने मन्त्रालयका सचिवहरू, सातै प्रदेशका शिक्षा विकास निर्देशनालयका निर्देशकहरू, ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरू, राष्ट्रिय परीक्षा बोर्डका प्रदेश र शाखा कार्यालयका प्रमुखहरू, बोर्डका अध्यक्ष, सदस्य सचिव, परीक्षा नियन्त्रण, उपनियन्त्रक कर्मचारीलगायतको भर्चुअल बैठक सम्पन्न भएको बताउनुभयो ।
उहाँले प्रत्येक प्रदेशमा प्रदेश सचिवको अध्यक्षतामा गठन भएका प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले बोर्डको निर्देशनको परिधिभित्र रहेर प्रदेश भित्रका परीक्षा सञ्चालन, व्यवस्थापन र अनुगमन गर्ने बताउनुभयो । त्यस्तै प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी प्रमुख, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख सदस्य सचिव, जिल्लाका सुरक्षा निकायका प्रमुखहरूलगायत रहने गरी गठन गरिएको जिल्ला परीक्षा समन्वय समितिले परीक्षा केन्द्रमा केन्द्राध्यक्ष नियुक्ति, सरोकारवालालाई प्रशिक्षण गर्ने, प्रश्नपत्र प्रहरी निकायसम्म पुर्याउने, उत्तर पुस्तिका परीक्षा केन्द्रसम्म पुर्याउने र आवश्यक समन्वय गर्ने कामसमेत पूरा भएको उहाँको भनाइ छ ।
झन्डै पाँच लाख परीक्षार्थी
एसईईमा सहभागिता जनाउन यस वर्षका लागि परीक्षामा सहभागी हुन २०७८ मा कक्षा ९ मा रजिस्ट्रेशन भर्ने विद्यार्थी पाँच लाख १६ हजार पाँच सय ९१ जना रहे पनि कक्षा १० सम्म आइपुग्दा भने परीक्षाका लागि आवदेन दिनेमा चार लाख ८४ हजार दुई सय २७ जनाले फारम भरेका थिए । परीक्षा नियन्त्रक श्रेष्ठका अनुसार कक्षा ९ बाट १० मा आउँदा ३२ हजार तीन सय ६४ विद्यार्थी घटेका छन् ।
बोर्डले यस वर्ष जापानमा पनि एसईई परीक्षा केन्द्र कायम गरेको छ । नेपालबाट रोजगारीका सिलसिलामा जापान पुगेका नेपालीका १४ जना सन्तानले जापानबाटै परीक्षा दिने भएका हुन् । जापान सरकारको अनुमतिमा नेपाली पाठ्यक्रममा अध्यापन हुने टोकियोको एक शैक्षिक संस्थाबाट जापानमा रहेका नेपाली एसईईमा सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको हो ।

