काठमाण्डौ, साउन २१-
मनसुनको न्यून चापीय रेखा (Low Pressure Area) नेपाल नजिक आएकाले अबका तीन दिन देशभर वर्षाको मात्रा बढ्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आइतबार, सोमबार र मंगलबार देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना देखिएको हो। ‘साथै कतिपय स्थानमा भारीदेखि धेरै भारीसम्म पनि वर्षा हुने देखिएको छ’, उनले भनिन्।
मौसमविद्का अनुसार मनसुनी रेखा (पानी पार्ने मौसमी प्रणााली) सरदर स्थानभन्दा उत्तरतर्फ आयो भने त्यो नेपाल नजिक हुनेछ र वर्षाको मात्रा बढ्छ। त्यो रेखा सरदर स्थानभन्दा दक्षिणतिर सर्यो भनेचाहिँ नेपालभन्दा केही टाढा हुन्छ र यता पानी पर्ने क्रम केही कम हुन्छ।
मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र मधेश प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। ‘कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ’, बुलेटिनमा भनिएको छ।
यस्तै राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। ‘गण्डकी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ’, बुलेटिनमा भनिएको छ।
मौसमी भाषाको अर्थ
मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ। अनि २ सय मिलिमिटरदेखि माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ।
यस्तै सम्बन्धित क्षेत्रको १० प्रतिशत भूभागमा मात्रै वर्षा हुनुलाई एक/दुई स्थान, १० देखि ३० प्रतिशत भूभागमा पानी पर्नुलाई थोरै स्थान, तोकिएको क्षेत्रको ३० देखि ५० प्रतिशत भूभागमा वर्षा हुनुलाई केही स्थान, ५० देखि ८० प्रतिशत भूभागमा पानी पर्नुलाई धेरै स्थान, ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षा हुनुलाई अधिकांश स्थानमा वर्षा हुने भनेर बुझ्नुपर्ने मौसमविद् बताउँछन्।
यस्तै मौसम महाशाखाले दिउँसो भन्नाले दिन अर्थात् बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मको समयलाई मान्ने गरेको छ भने राति भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समय हो।

