११ औं महाधिवेशनको नेतृत्व चयन प्रक्रियालाई लिएर नेकपा एमालेको संस्थापन (केपी शर्मा ओली) समूहमै विवाद भएको छ ।
१० औं महाधिवेशनमा ओलीले टीम बनाउँदा त्यति विवाद नदेखिए पनि ११ औं महाधिवेशनको टीम फर्मेसनमा विवाद भएको हो ।
महासचिवमा शंकर पोखरेललाई दोहोर्याउने ओलीको चाहनापछि संस्थापन पक्षभित्रै विवाद सिर्जना भएको छ । विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल, पृथ्वी सुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई उपाध्यक्ष बनाउने गरी पहिलो सूची सार्वजनिक भएको थियो ।
सोमबार बिहान बनाइएको पहिलो सूचीमा भानुभक्त ढकाललाई उपमहासचिव प्रस्ताव गरिएको थियो ।
तर, सचिवमा दोहोर्याउन खोजिएका लेखराज भट्टको असन्तुष्टिपछि तत्काल सो सूची सच्च्याइयो ।
ढकाललाई सचिवमा राखेर भट्टलाई उपमहासचिवको उम्मेदवार बनाउने गरी सहमति भयो ।
असन्तुष्ट भट्टले ईश्वर पोखरेल समूहबाट पदाधिकारी बन्ने तयारी गरेपछि संस्थापन पक्षले सो निर्णय तत्कालै सच्चाएको थियो ।
‘अध्यक्ष कमरेडलाई घेराबन्दी गर्ने प्रयास भयो, केही स्वार्थी समूहले राम्रो टीम बनाउन दिएनन्,’ संस्थापन पक्षका एक असन्तुष्ट नेताले भने ।
‘टीम फर्मेसन’मा असन्तुष्टि जनाउँदै अग्नि खरेल, लालबाबु पण्डित र रघु पन्तहरूले स्वतन्त्र उम्मेदवारी घोषणा गरे । खरेल ओली प्रधानमन्त्री बन्दाका महान्यायाधिवक्ता र पूर्व कानून मन्त्री समेत हुन् ।
पन्त भदौ २३ सम्म ओली सरकारमा शिक्षा मन्त्री थिए भने लालबाबु पण्डितले ओलीको समर्थन गरिरहेका थिए ।

