चितवन — धार्मिक आस्था र ऐतिहासिक महत्व बोकेको बिक्रमबाबा मेला यस वर्ष चैत्र ५ गतेदेखि आज (चैत्र १९) सम्पन्न भयो । चितवन राष्ट्रिय निकुञ्जभित्र अवस्थित बिक्रमबाबा पूजा क्षेत्रलाई केन्द्रमा राखेर आयोजना हुने यो मेला प्रत्येक वर्ष लाखौँ भक्तजनको आकर्षणको केन्द्र बन्ने गरेको छ ।
मेलाको अन्तिम दिन राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानको आयोजना तथा सप्तगण्डकी बहुमुखी क्याम्पसका बि.एस्सी. वातावरणीय विज्ञान विषयका प्राध्यापक तथा विद्यार्थीहरूको समन्वयमा ठोस फोहोर उत्पादन तथा व्यवस्थापनको स्थलगत अध्ययन र ‘वेस्ट अडिट’ कार्यक्रम सम्पन्न गरिएको हो । चितवन राष्ट्रिय निकुञ्ज जैविक विविधताको दृष्टिकोणबाट अत्यन्तै महत्वपूर्ण क्षेत्र हो । प्लास्टिक निशेधित क्षेत्र हो।दुर्लभ वन्यजन्तु, घना वनस्पति र राप्ती नदीको संवेदनशील जलीय पारिस्थितिक प्रणाली रहेको यस क्षेत्रमा ठूलो संख्यामा मानिसको आवागमन हुने मेलाको सञ्चालन वातावरणमैत्री ढंगले हुनुपर्ने भए पनि व्यवहारमा त्यसो हुन नसकेकोमा चिन्ता ब्यक्त गरिएको छ ।
मेलाको व्यवस्थापनका लागि व्यापारिक स्टलहरू निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत केरुंगा उपभोक्ता समिति क्षेत्र घैलाघारी सामुदायिक वन देखि कसरा गेटसम्म विस्तार गरिएको थियो । तर स्टलहरूबाट उत्पादन हुने फोहोरमैला व्यवस्थापनमा आवश्यक ध्यान नदिँदा कुहिने र नकुहिने फोहोर एकै ठाउँमा मिसिएको, स्टल वरपर तथा जंगलका बाटोमा यत्रतत्र फालिएको अवस्था भेटिएको छ । कतिपय स्थानमा फोहोर खुला रूपमा जलाइएकोसमेत देखिएको छ भने धेरै ठाउँमा स्टल पछाडि थुपारेर छोडिएको छ ।
मेलास्थल वरपर दुर्गन्ध फैलिएको, झिँगा भन्किरहेको तथा प्लास्टिकजन्य फोहोरको अत्यधिक प्रयोग भएको पाइएको छ । विशेषगरी भिक्षा माग्नेहरूलाई चामल, प्रसाद तथा अन्य सामग्री साना प्लास्टिकका झोलामा दिने र पछि ती झोला फाल्ने प्रवृत्तिका कारण प्लास्टिकजन्य फोहोर अझ बढेको देखिएको हो ।
कसरा गेटदेखि आर्मी पोस्टसम्मको क्षेत्रमा न्यून मात्रामा मात्र डस्टबिन राखिएको पाइयो । यसका कारण मेलामा आउने–जाने दर्शनार्थीहरूले जंगल क्षेत्रमा जथाभावी फोहोर फाल्ने गरेका छन् । यद्यपि सैनिक चेकपोष्टदेखि घडियाल प्रजनन केन्द्र जाने बाटोमा बाँसबाट बनेका डष्टबिन (डोको) राखिएको कारण सरसफाई तथा फोहोर ब्यवस्थापन सन्तोषजनक देखिएको छ ।
बिक्रमबाबा पूजा क्षेत्र र मुख्य मन्दिर वरपरको अवस्था भने नाजुक देखिएको छ । दर्शनार्थीहरूले पूजा सकेपछि ल्याएका सामग्री प्लास्टिकका बोतल, झोला, अबिर, दियोबत्ती, पूजा कपडा, जनै, फलफूल, खानेकुरा, नरिवल जथाभावी छोड्ने गरेका छन् । यसरी जथाभावी फोहोर छोडिँदा पात पतिङ्गरसँग मिसिएर आगलागी हुन सक्ने जोखिम तथा दुर्गन्ध फैलिने देखिएको छ । यसै गरी बलि दिने स्थानमा रगत खुला रूपमा छोडिँदा झिंगा तथा दुर्गन्ध फैलिएको छ ।
मेलाको सरसफाइ व्यवस्थापनमा पूजा व्यवस्थापन समिति प्रभावकारी देखिन सकेको छैन । महानगरपालिकाको फोहोर संकलन गर्ने सवारी साधन मेला अवधिभर एकपटक मात्र पुगेको जानकारीसमेत बाहिर आएको छ । नियमित संकलन नहुँदा फोहोर थुप्रिँदै गएको र समस्या थप गम्भीर बनेको देखिएको छ । यसले वन्यजन्तु तथा समग्र पारिस्थितिक प्रणालीमा नकारात्मक प्रभाव पार्ने जोखिम बढाएको विज्ञहरू बताउँछन् ।
फोहोरमैला ब्यवस्थापनमा आवस्यक सुधार नगरे निकुञ्जको जैविक विविधता र राप्ती नदी प्रणालीमा दीर्घकालीन असर पर्ने खतरा रहेको औंल्याइएको छ । आयोजकले आगामी दिनमा मेला तथा यस्ता धार्मिक कार्यक्रमहरूलाई वातावरणमैत्री बनाउने रणनीति तयार गर्नुपर्ने आवश्यकता रहेको बताएको छ । विज्ञहरूले फोहोर व्यवस्थापन सुधारका लागि स्पष्ट सुझावसमेत दिएका छन् । प्रत्येक स्टलले आफ्नो फोहोर अनिवार्य रुपमा आफै कुहिने नकुहिने छुट्याई संकलन तथा व्यवस्थापन गर्नुपर्ने, पर्याप्त डस्टबिन राख्नुपर्ने तथा निकुञ्जभित्र प्लास्टिक प्रयोग निषेध गर्नुपर्नेमा जोड दिइएको छ । प्रत्येक दिन को फोहोर सोही दिन व्यवस्थापन गर्न पर्ने
त्यसैगरी, पूजा स्थलमा सूचना प्रवाह र माइकिङमार्फत जनचेतना फैलाउने, स्वयंसेवक परिचालन गर्ने, सुरक्षित खानेपानी तथा शौचालयको व्यवस्था गर्ने र महानगरपालिकाले नियमित रूपमा फोहोर संकलन गरी व्यवस्थापन गर्नुपर्ने सुझाव दिइएको छ । सरोकारवाला निकायले नियमित अनुगमन गरेर प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा समेत जोड दिइएको छ ।
यद्यपि मेला व्यवस्थापन तथा जैविक विविधताको संरक्षणमा सुरक्षा निकायले खेलेको भूमिका भने सराहनीय रहेको सहभागीहरूले बताएका छन् । समग्रमा, धार्मिक आस्था र वातावरणीय संरक्षणबीच सन्तुलन कायम गर्न नसक्दा बिक्रमबाबा मेला यस वर्ष फोहोर व्यवस्थापनको समस्याका कारण प्रश्नको घेरामा परेको छ ।
अध्ययन टोलीमा राप्ती नदी सरसफाइ अभियन्ता अपिल घिमिरे, उप-प्राध्यापक ध्रुब आचार्य, विद्यार्थीहरू रोशन थापा, दीपशिखा रखाल मगर, शनिसा आचार्य तथा राप्ती नदी तटीय क्षेत्र सरसफाई अभियानका सचिव अपेक्षा बस्नेत लगायत सहभागी थिए । टोलीले मेलास्थलको अवलोकन गर्दै फोहोर व्यवस्थापनको अवस्थाबारे प्रतिवेदन तयार पार्ने र सम्बन्धित निकायलाई सुझावसहित बुझाउने जनाएको छ ।
Breaking News
- बिक्रमबाबा मेलाको फोहोर व्यवस्थापनः सरोकारवालाहरुले उचित ध्यान पुर्याउन नसकेको अध्ययन टोलीको निष्कर्ष
- विद्यालयबाट कलम किन्न भनेर निस्किएका दुई बालकको नारायणीमा डुबेर ज्यान मृत्यु
- पूर्वप्रधानमन्त्री ओलीलाई भर्चुअल रूपमा अदालत उपस्थित गराइने
- सम्पर्कविहीन प्रशासकीय अधिकृतलाई फेसबुकबाट मेयरको आग्रह- घर बस्न दिक्क भो होला, अफिस आउनुस्
- नवनिर्वाचित सांसदहरूको शपथ आज, आवश्यक कागजातसहित दुई घण्टाअगावै उपस्थित हुन आग्रह
- बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !
- चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न
- रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

