प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलको ९०औं महासभा मंगलबारदेखि भारतको नयाँ दिल्लीमा सुरु भएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक समारोहबीच उद्घाटन गरेको उक्त महासभामा भाग लिन प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहको नेतृत्वमा ५ सदस्यीय टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको थियो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले अहिलेको ग्लोबलाइजेशनको युगमा इन्टरपोलबिना विश्वको कल्पना गर्न नसकिने भएकाले इन्टरपोललाई अझ सशक्त बनाउनुपर्ने बताए । विशेषतः साइबर क्राइम, टेरोरिजम र बालबालिकामाथिको शोषण अन्त्य गर्न अन्तर्राष्ट्रिय प्रहरी समन्वय र सहयोगलाई अझ मजबुत बनाउँदै लैजान अपरिहार्य रहेको उनले उल्लेख गरे ।
द्घाटन समारोहमा भारत सरकारका गृहमन्त्री अमित शाहलगायतका मन्त्रीहरूको सहभागिता रहेको थियो । उक्त महासभामा नेपालसहित १७५ राष्ट्रका प्रहरी प्रमुख तथा उच्च अधिकृतहरूको सहभागिता रहेको छ । भारत सरकारले यो आयोजनालाई अत्यन्त महत्त्वपूर्ण रूपमा लिएको छ ।

