पछिल्लो एक महिनामा बैंकिङ प्रणालीमा निक्षेप बढ्दै जाने र कर्जा लगानी भने संकुचित हुँदै जाँदा बैंकहरूको औसत सीडी रेसियो तल झर्न लागेको छ । नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोख्रेलका अनुसार ३० असोजमा बैंकहरूको कुल निक्षेप ५१ खर्ब २९ अर्ब पुगेको छ । औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८६.९७ प्रतिशतमा झरेको छ ।
३१ भदौ २०७९ मा कुल निक्षेप ५० खर्ब ८९ अर्ब रहेको थियो । एक महिनाको अवधिको बैकिङ प्रणालीमा ४० अर्ब रुपैयाँ निक्षेप थपिएको छ । जबकी सोही अवधिमा कर्जा भने १ अर्बले घटेको छ । ३१ भदौ २०८९ मा ४७ खर्ब २३ अर्ब रहेको कर्जा लगानी ३० असोजमा ४७ खर्ब २२ अर्बमा झरेको राष्ट्र बैंकका सहप्रवक्ता पोख्रेल बताउँछन् ।
निक्षेपमा वृद्धि र कर्जा लगानीमा गिरावट हुँदा साढे ८७ प्रतिशत भन्दा माथि रहेको सीडी रेसियो (कर्जा–स्रोत परिचालन अनुपात) एक महिनामा ८७ प्रतिशत भन्दा तल झरेको छ । एक महिनाको अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी ८ अर्बले घटेको देखिन्छ । ३१ भदौमा ४१ खर्ब ९० अर्ब रहेको कर्जा लगानी ३० असोजमा घटेर ४१ खर्ब ८२ अर्बमा झरेको छ ।
वाणिज्य बैंकहरुको कुल निक्षेप ३१ भदौमा ४४ खर्ब ८६ अर्ब रहेकोमा ३० असोजमा आउँदा ३२ अर्बले बढेर ४५ खर्ब १८ अर्ब पुगेको छ ।
असोजमा बैंककहरुले कर्जा असुलीलाई प्राथमिकतामा राख्नै कर्जा लगानी अत्यवश्यक बाहेक पूर्ण रुपमा रोकिंदा कर्जा लगानी संकुचित भएको बैंकर्स संघका कार्यकारी सदस्य समेत रहेको माछापुच्छ«े बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला बताउँछन् ।
निक्षेपमा वृद्धि र कर्जा लगानी संकुचित गर्दा सीडी रेसियो घटेको र केही सहज अवस्था बनेको उनले बताए । बैंकिङ क्षेत्र सुधारतिर गएको हो कि जस्तो देखिएको उनले बताए । निक्षेप बढीरहेको तर कर्जाको भने ग्रोथ नहुँदा बैंकिङ क्षेत्रको अवस्था सहज बन्दै गएको उनले बताए ।
‘बैंकहरुले कर्जा नियन्त्रण गरे । दशैं–तिहारले निक्षेपको ग्रोथ भयो भने रेमिट्यान्स पनि बढेको छ । अहिलेकै जस्तो बैंकहरुले कर्जा नियन्त्रण गरेको खण्डमा सुधार हुन्छ भन्ने लाग्छ,’ उनले भने, ‘सरकारले आयात पनि मंसिर अन्तिमसम्म नियन्त्रण नै गरेको छ । अवस्था सुधाउत्मुख देखिन्छ ।’
५१ खर्ब निक्षेप रहेको बैंकिङ प्रणालीको सीडी रेसियो ८७ प्रतिशत भन्दा तल भरेको छ । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई ९० प्रतिशत सीडी रेसियो कायम गर्नुपर्ने व्यवस्था गरेको छ । यसलाई आधार मान्दा बैंकहरुको औसत सीडी रेसियो ३ प्रतिशतसम्म बढ्दा पनि समस्या नहुने देखिन्छ । ५१ खर्बको ३ प्रतिशत भनेको १ खर्ब ५३ अर्बसम्म कर्जा लगानी गर्नेसक्ने क्षमता हुँदा समेत बैंकहरु कर्जा लगानी नगरी रोकेर बसेका छन् ।
आगामी दिनमा थपिन सक्ने चुनौतीलाई मूल्यांकन गरेर कर्जा लगानी नगरी बसेको बैंकर कोइराला बताउँछन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षबाट पुनर्कर्जा कोषमा रहेको सीमासम्म मात्रै पुनर्कर्जा दिने बताइसकेको छ । यस अनुसार अबको केही महिनाभित्रै करिब ४५ अर्बको सीमाभित्र पुनर्कर्जा ल्याउनुपर्ने हुन्छ । नेपाल राष्ट्र बैंकका सहप्रवक्ता पोख्रेल हाल १ खर्ब ५ अर्ब पुनर्कर्जा लगानीमा रहेको बताउँछन् ।
यस्तै बैंकहरुले हाल स्थानीय तहको सञ्चित कोषमा रहेको रकमको ८० प्रतिशत निक्षेप गणना गर्दै आएका छन् । आगामी पुस मसान्तपछि ५० प्रतिशत मात्रै निक्षेप गणना गर्न पाइने हुँदा बैंकहरुले त्यसलाई पनि व्यवस्थापन गरेर अगाडि जानुपर्ने हुन्छ । अर्कोतर्फ आगामी असार मसान्तदेखि बैंकहरुले हाल निक्षेपमा गणना गर्दै आएको एक खर्ब भन्दा बढीको ऋणपत्र पनि पूँजीकोष प्रयोजन र स्रोत परिचालन कुनमा गणना गर्ने वर्गीकरण गर्नुपर्ने हुन्छ । पूँजीकोष प्रयोजनमा वर्गीकरण गरेको ऋणपत्र निक्षेपमा गणना गर्न नपाइने हुन्छ ।
यी सबैलाई व्यवस्थापन गर्नुपर्ने र निक्षेपमा पनि तीव्र उतारचढाव भइरहँदा त्यसलाई ध्यानमा राखेर बैंकहरुले क्षमता भएपनि कर्जा लगानी नगरेको कोइरालाले बताए ।
नेपाल राष्ट्र बैंकका सहप्रवक्ता पोख्रेल पनि तरलता बढ्दै गएको, राष्ट्र बैंकसँग लिएको सापटी घट्दै गएको र सीडी रेसियो केही तल झरेको र केही सहज अवस्था आउला भन्ने देखिएको बताउँछन् ।
२ कात्तिकमा तरलता व्यवस्थापनका लागि लिएको सापटी बक्यौता ९५ अर्ब ८६ करोड ९३ लाख पुगेको राष्ट्र बैंकले जनाएको छ । यसअघि यस्तो बक्यौता रकम २ खर्बसम्म पनि पुग्ने गरेको थियो ।

