ध्रुव भट्टराई/मोरङ –
तीन बिघा जग्गामा जुट खेती गरेका मोरङ धनपालथानका देवनारायण मण्डलले लगानीभन्दा कम आम्दानी भएपछि जुट अर्थात् (पटुवा) खेती गर्न छाडेका छन्। मण्डलले जुटको खेतीको विकल्पमा हाल धान खेती गर्दै आएका छन्।
धान उत्पादक कृषक भनेर चिनिने मण्डलले भने, ‘आम्दानीभन्दा लगानी बढी छ, जुट खेती गरेर फाइदा हुँदैन के गर्नु ?’ साविकको नोचा गाविसमा मात्र कम्तिमा १५ बिघा क्षेत्रफलमा किसानहरूले जुट खेती गर्दै आएका थिए तर अहिले जुटको खेती मासिएर बढीमा तीन, चार बिघामा सीमित भएको मण्डल बताउँछन्।
झापा गौरदहका हरिलाल मण्डल र दिपेन्द्र महतोले पाँच वर्ष अघिसम्म दुई बिगाहा जग्गामा जुट खेती गर्थे तर जुट खेतीबाट फाइदा नभएपछि उनले पनि धान खेती नै गर्न थालेका छन्।
पछिल्लो समय सुनसरी, मोरङ र झापा जिल्लाका दक्षिणी क्षेत्रका किसानले जुट बिक्री गर्दा भाउ नपाउने, काम गर्ने मजदुरको अभाव हुने, मल बिउको समस्या र कम आम्दानी हुनेजस्ता समस्या भएको कारण देखाउँदै जुट खेतीको विकल्प रोज्न थालेका छन्। जुट खेतीका लागि उर्बर भूमि भनेर चिनिएका जिल्लाबाट जुट खेती क्रमश:हराउँदै गएको छ।

प्रदेश १ कृषि विकास निर्देशनालयको तथ्याङ्क अनुसार मोरङ, सुनसरी र झापा जिल्लामा दुई दशक अघि ६० हजार हेक्टरमा जुट खेती हुने गर्दथ्यो। अहिले जम्मा ६ हजार हेक्टरमा मात्र जुट खेती हुन्छ। मोरङ जिल्लामा ५३ सय ३८ हेक्टर, सुनसरीमा १४ सय हेक्टर र झापामा ५ सय ९० हेक्टर जग्गामा जुट खेती हुने गरेको छ।
कृषि विकास निर्देशनालयका निमित्त प्रमुख प्रकाशकुमार डाँगीले मोरङ, सुनसरी र झापा जिल्लामा हुने जुट खेती दुई दशकपछि आउँदा कुल क्षेत्रफलको १० प्रतिशतमा सीमित भएको बताए।
जुट खेतीबाट किसानहरू पलायन हुने क्रमसँगै तीन जिल्लाका करिब १ लाखको संख्यामा रहेका पोखरी पनि मासिदै गएका छन्। जुट प्रशोधनका लागि पानीमा डुबाएर राख्न ती पोखरी निर्माण गरिएका थिए।
जुट खेतीबाट किसानहरू पलायन हुने क्रमसँगै तीन जिल्लाका करिब १ लाखको संख्यामा रहेका पोखरी पनि मासिदै गएका छन्। जुट प्रशोधनका लागि पानीमा डुबाएर राख्न ती पोखरी निर्माण गरिएका थिए।
जुट खेतीका लागि तयार परिएका पोखरी मासिएपछि भूमिगत पानी रिचार्ज हुने प्रक्रिया र जलचर जीवहरू पनि मासिएको डाँगीले बताए।
किसानहरूले खाडीलाई पोखरीको रूपमा प्रयोग गर्ने गरेका छन् भने कतिपयले खाडी मासेर धान खेती गर्दै आएका छन्।
अहिले मोरङ, सुनसरी र झापा जिल्लाका दक्षिणी क्षेत्र हुलाकी राजमार्गको आसपासका किसानले मात्र थोरै क्षेत्रफलमा जुट खेती गर्ने गरेका छन्। पछिल्लो समयमा किसानले चाड पर्व मनाउने खर्च जोहो गर्नका लागि मात्र थोरै जग्गामा जुट खेती गरेका छन्।
मोरङ, सुनसरी र झापा जिल्लामा निकै अघिदेखि जुट खेती गरिँदै आएको थियो। विगतका वर्षमा मोरङ, सुनसरी र झापामा उत्पादन भएका जुट भारतका साथै बंगलादेशसम्म निर्यात गरिन्थ्यो तर अहिले ठीक उल्टो छ। अहिले विराटनगरका अधिकांश जुट मिलका लागि आवश्यक कच्चा जुट भारत र बंगलादेशबाट आयात गर्ने गरिएको छ।
जुट भित्र्याउने मुख्य समय साउन मसान्तदेखि असोजसम्म हो। जुट खेती हुन छाडेपछि जुट उद्योगहरू पनि घरासायी भएका छन्। मोरङ जिल्लामा रहेका ११ वटा जुट उद्योगमध्ये कच्चा पदार्थ अभावमा ६ वटा बन्द भएका छन्। अन्य सञ्चालनमा रहेका उद्योग पनि संकटग्रस्त छन्।
जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले मोरङ, सुनसरी र झापा जिल्लामा प्रशस्त जुट खेती हुँदा खुलेका उद्योगहरू बन्द हुनुको मुख्य कारण कच्चा पदार्थ अभाव नै रहेको बताए। नेपाली उत्पादनले नपुगेपछि भारत र बंगलादेशबाट जुटको कच्चा पदार्थ आयात हुँदै आएको छ।
‘जुट खेतीमा किसानको आकर्षण बर्सेनि घट्दै छ, त्यसको प्रत्यक्ष मार मोरङ–सुनसरी औद्योगिक करिडोरका जुट उद्योगमा परेको छ,’ अध्यक्ष गोल्छाले भने, ‘अहिले सबै उद्योगले आवश्यक कच्चा पदार्थ भारत र बंगलादेशबाट ल्याइरहेका छन्।’
वार्षिक दुई अर्ब बढीको कच्चा जुट आयात
विराटनगरका अधिकांश जुट मिलका लागि आवश्यक कच्चा जुट भारत र बंगलादेशबाट आयात हुन्छ। सुनसरी–मोरङ औद्योगिक करिडोरमा सञ्चालित ६ वटा उद्योगका लागि वार्षिक ९० हजार मेट्रिकटन कच्चा जुट आवश्यक पर्दछ।
चालु अवस्थामा रहेका उद्योगलाई आवश्यक कच्चा जुटको आन्तरिक उत्पादन १६ हजार मेट्रिकटन मात्रै छ। करिडोरमा बाबा, अरिहन्त, स्वस्तिक, रघुपति, नेपाल र चन्द्रशिव जुट मिलले आवश्यक कच्चा पदार्थ भारत र बङ्गलादेशबाट आयात गर्दै आएका छन्।
चालु अवस्थामा रहेका उद्योगलाई आवश्यक कच्चा जुटको आन्तरिक उत्पादन १६ हजार मेट्रिक टन मात्रै छ। करिडोरमा बाबा, अरिहन्त, स्वस्तिक, रघुपति, नेपाल र चन्द्रशिव जुट मिलले आवश्यक कच्चा पदार्थ भारत र बङ्गलादेशबाट आयात गर्दै आएका छन्।
उद्योगी गोल्छाले करिडोरमा सञ्चालनमा रहेको ६ वटा उद्योगका लागि आवश्यक कच्चा पदार्थमध्ये ६५ प्रतिशत भारत र बंगलादेशबाट आयात हुन्छ जसका कारण वार्षिक साढे दुई अर्ब रूपैयाँ विदेशिने गरेको छ। भारत र बंगलादेशबाट कच्चा जुट आयात गरी उत्पादन गरेको जुटका सामाग्री ती उद्योगले आफ्नो उत्पादनको ९५ प्रतिशत भारत निकासी गर्दै आएका छन्।
करिडोरमा रहेका जुट उद्योगले वार्षिक ६५ हजार मेट्रिक टन खपत गर्ने गरेका छन्। त्यसमध्ये वार्षिक ४५ हजार मेट्रिक टन भारत र बंगलादेशबाट कच्चा जुट आयात हुने गरेको छ। नेपालको जम्मा १८ हजार मेट्रिक टन कच्चा जुट उद्योगले प्रयोग गर्दछन्। जबकी विराटनगरमा ११ वटा जुट उद्योग सञ्चालनमा रहँदा वार्षिक १ लाख मेट्रिक टन जुट खपत हुने गरेको थियो।
आर्थिक वर्ष २०७८/७९ मा मात्र रानी भन्सार कार्यालय र मेची भन्सार कार्यालयबाट ६४ हजार ४२० टन कच्चा जुट आयात भएको छ। जसमा रानी बाट ३० हजार ६ सय १ मेट्रिक टन र मेची भन्सारबाट ३३ हजार ८ सय १९ मेट्रिक टन कच्चा जुट आयात भएको छ।


