कास्की । उमेरले ७० वर्ष । सरकारले प्रदान गर्ने ज्येष्ठ नागरिक भत्ता खाने बेला हो । न नागरिकता छ । न परिवारका कुनै सदस्य नै छन् । जीवन बालुवामा संघर्ष गर्दागर्दै नै बित्दै छ ।
आइतबार फूलपातीको दिन सबै नेपालीमा दसैँको चहलपहल सुरु भएको छ तर उनलाई न कुनै वर्ष दसैँ न त तिहार लागेको छ । बालुवा बोकेर बिहान–बेलुकाको गाँस जुटाउन कै लागि संघर्ष गर्दै ठिक्क छ ।
टाउकोभरि नाम्लाको नील डाम । पाइतालामा चप्पल छैन । थोत्रा कपडा, कुप्री पर्दै, एक हातमा लौरो र अर्को हातले सिँढीको फलामे रेलिङको सहयता लिँदै । न हातले नाम्लो समाउनु छ । आइतबार दसैँकै दिन पोखराको शान्तिघाटबाट ५० केजी बालुवा बोरामा बोक्दै डिलमा राख्दै थिए लमजुङ जिल्लाका ७० वर्षीय साइँला गुरुङ ।
सेती नदीको शान्तिघाटबाट माथिल्लो डिलमा बालुवा उतार्न करिब एक किलोमिटर दूरी छ । त्यो पनि ठाडै उकालो सिँढी, अघि–अघि एक बालुवा बोक्ने युवाको सहायतामा बालुवा बोकेर उक्लदै गरेका गुरुङलाई देख्ने जो कोही व्यक्तिले जिब्रो काढ्दै हिँड्छ र भन्छ,‘राज्य कहाँ छ ?’ आइतबार शान्तिघाटमा मृत्यु भएको व्यक्तिको दाहसंस्कारमा सहभागी हुन आएका मलामीहरूले भन्दै थिए, ‘जिउनकै लागि ७० वर्षे बुबाको यस्तो संघर्ष ।’
न उहाँको डेरा छ न त कुनै घर । शान्तिघाट विकास समितिले मानिसको लास पोल्नका लागि राख्ने दाउराको छेउमा छ उनको बास । उनले भने, ‘बालुवा बोक्न थालेकै पाँच दशक भएको छ, कति समय घाटकै छेउको ढुंगामुनि बसेँ । पटक–पटक सुतेका ठाँउमा राति झस्काउन भूत–प्रेत आउँथे तर मैले राति पनि अँगेनामा आगो राख्थेँ । आएका चिजलाई अगुल्टाले हिर्काउँथे र भाग्थ्यो ।’ पैतलाले अहिलेसम्म चप्पल देखेकै छैन । लगाउन पनि जान्दैनन् उनी ।
अहिले बिहानदेखि बेलुकासम्म साइँला गुरुङले ६ थैला बालुवा डिलमा उतार्छन् । बालुवा बोकाउन लगाउने साहुले एक थैलोको ५० रूपैयाँ दिने गरेको छ । उनले भने, ‘दिनमा तीन सय आम्दानी हुन्छ । त्यो बिहान बेलुकाको भात र खाजामा सकिन्छ । एक पैसा बच्दैन, दसैँको टीकाका दिन पनि काम गरिँन भने म भोकै मर्छु । मलाई भैँसीको मासु मिठो लाग्छ । टीकाका दिन एक सय रूपैयाँमा एक पाउ जति भैँसीको मासु ल्याई शान्तिघाटस्थित बस्दै आएको छाप्रोमा पकाएर खान्छु ।’
कहिलेकाहीँ भोकै भएमा शान्तिघाटको एक होटलले भात खान दिने गरेको छ उनलाई । न झरी न बादल । पानीमा भिज्दै भए पनि बालुवा बोक्छु’ , गुरुङले भने,‘दिनभरि बालुवा बोग्दा राति घुँडा, पिँडौँला र ढाड करकरी लुच्छ । एक वर्षपछि बालुवा बोक्न पनि सक्दिनँ कि जस्तो लागेको छ, सरकारले नागरिकता बनाएर भत्ता दिए हुन्थ्यो ।’
जन्मेको लमजुङ जिल्ला भन्ने थाहा छ । कुन गाउँ हो भन्ने थाहा छैन उनलाई । ‘म सानै हुँदा बा बितेछन्, सात वर्षको हुँदा आमा पनि बितिछन्, गाउँको कोही मान्छेले मलाई यहाँ ल्याएर काठको मिलमा छाडेछन् । त्यही मिलमा केही वर्ष काम गरेपछि म त्यहाँबाट हिँडे र बालुवा बोक्न थालेँ’, गुरुङले भने, ‘अहिले पनि बालुवा बोक्दै छु ।’
उनलाई बाआमाको त कुरै छाडौँ आफ्नो नामसमेत थाहा छैन । ‘एक वर्षअघि मलाई वृद्धाश्रम लानका लागि दुईवटा लोग्ने मानिस आएका थिए, उनीहरूलाई म बालुवा बोकेर खान्छु, वृद्धाश्रम जान्न भनेर पढाइदिएँ’, गुरुङले भने । न त उनले विवाह नै गर्नुभयो न त परिवार नै छन्, केवल एक्लो जीवन । ‘लामिछाने गुरुङ हुँ, नाम थाहा छैन, यहाँ आएपछि सबैले साइँला भन्दा रहेछन्, मेरो नामै साइँला गुरुङ’, उनले भने । दसैँका दिन घटस्थापनामा घाटमा अन्य महिला र पुरूषले समेत बालुवा बोक्दै थिए ।

