धनुषा । हिन्दू धर्माम्बलम्बी नेपालीको महान् चाड दसैँलाई हरेक वर्ष बजारले नयाँ–नयाँ रौनकतासहित स्वागत गरेको छ । कोराना महामारीले अघिल्ला दुई वर्ष सुनसान बनेका यहाँका बजार क्षेत्रमा यस वर्ष भने पुनः वस्तु वा सेवा खरिद बिक्री गर्नेको भिडभाड दोहोरिएको छ ।
दसैँले छोपिएको यतिबेला मधेस प्रदेशको राजधानी जनकपुरधामको बजारसहित देशभरिकै बजारमा हरेक वर्ष झैं चहलपहल बढेको छ । किराना सामानदेखि लत्ताकपडा, गरगहना, सवारीसाधन, माछामासु, मदिरा, हल्का पेय पदार्थ, मोवाइल, टेलिभिजन, कपडा धुने मेसिन, फ्रिजलगायत विद्युतीय उपकरणका पसलहरूमा किनमेल गर्नेहरूको भीड अत्याधिक देखिएको छ । वस्तुका अतिरिक्त सेवा क्षेत्रमा सार्वजनिक सवारीसाधन, होटल/रेस्टुरेन्ट, एयरलाइन्सको व्यापारमा पनि बढोत्तरी देखिएको छ ।
दसैँ र लगत्तै पर्ने तिहार र छठलाई केन्द्रित गरेर विक्रेता तथा सेवाप्रदायकले विभिन्न छुटका कार्यक्रमहरू सार्वजनिक गरिरहेका छन् । उपभोगमा आधारित हाम्रो अर्थतन्त्रमा कुल उपभोगको एक तिहाइ दसैँमा उपभोग हुने अनुमान गरिन्छ । लामो बिदा र घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर मनोविनोद गर्ने, खुसी साटासाट गर्ने र मान्यजनको आशिर्वाद लिने दसैँ पर्वमा मानिसले धक फुकाएर खर्च गर्छन् । यसले बजारमा बहार ल्याउने र अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्ने अर्थशास्त्रका विज्ञहरू बताउँछन् ।
जनकपुरधामका अर्थशास्त्र विषयमा लामो समयदेखि प्राध्यापन गर्दै आएका उज्ज्वल दाहाल वर्षभरि हुने घरयासी खर्चको एकतिहाइ दसैँमा खर्च हुने गरेको बताउँछन् । उनले उद्योगी व्यवसायीले दसैँ, तिहार र छठ पर्वसँगै वस्तु र सेवाको व्यापारका लागि नयाँनयाँ छुटका कार्यक्रमहरूसहित ग्राहकलाई लोभ्याउने गरेको बताए ।
‘दसैँको व्यापारले वर्षभरिको व्यापारको चक्रलाई ठूलो भरणपोषण गर्छ’, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ भन्छन् । दसैँले बजारलाई गुलजार बनाउने भएकाले फूलपाती अघिसम्म विक्रेताले छुट र उपहारका विविधि योजना ल्याएर ग्राहकलाई आकर्षित गर्न खोजिरहेको हुँदा हरेक बजार मात्र होइन, सपिङ कम्प्लेक्सदेखि अनलाइन सपिङमा समेत दसैँ केन्द्रित किनमेलको चाप बढ्दो छ ।
रोजगारी वा अध्ययनका लागि नेपाल बाहिर रहेका व्यक्तिहरू पनि दसैँ मनाउन आ–आफ्नो गाउँघर आउनेहरूको क्रम जारी छ । सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ । कर्मचारीले दुई महिनाको तलब एकै महिना खर्च गर्छन् । यसले पनि दसैँमा अर्थतन्त्र कति चलायमान हुन्छ भन्ने देखाउँछ । सरकारले दसैँको अवसर पारेर आफ्ना कर्मचारीलाई एक महिनाको तलब दिने गर्दछ भने अन्य संघसंस्था, बैंक तथा वित्तीय संस्था र व्यापारिक प्रतिष्ठानहरूले पनि कर्मचारी, कामदारलाई केही खर्च दिने गरेका छन् । यतिबेला बजारमा पैसा चलायमान हुने भएकाले दसैँलाई अर्थतन्त्र चलायमान बनाउने एउटा प्रमुख पर्व भएको अर्थशास्त्री डा.सुरेन्द्र लाभको भनाइ छ ।
दसैँ तिहारलाई लक्षित गरी नयाँ सवारीसाधन खरिदमा छुट, सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने घोषणा यही बेला हुनाले पनि अर्थतन्त्र चलायमान हुने गरेको हो । ‘पहिले पनि दसैँं अर्थतन्त्रलाई चलायमान बनाउने एउटा प्रमुख पर्व थियो । पहिले दसैँं विशेषमा मात्र किनमेलका लागि बजार लाग्थ्यो भने हाल पर्याप्त समय निकाल्न नसकेका नेपालीले यही अवसरमा लत्ताकपडासहित सामानको किनमेल गर्ने गर्दछन् । कतिपयमा यही समयमै खरिद गर्नुपर्छ भन्ने मानसिकता समेत विकसित भएको देखिन्छ’,अर्थशास्त्री डा.लाभले भने ।
पछिल्ला वर्षहरूमा बजारमा चहलपहल बढ्ने अर्को कारण दसैँको समयमा विदेशबाट प्राप्त हुने विप्रेषण (रेमिट्यान्स) भएको अर्थशास्त्रीहरू बताउँछन् । विदेश बस्ने नेपालीले यही समयमा बढी रेमिट्यान्स पठाउने गरेका छन् । अन्य महिनाको तुलनामा दसैँमा करिब २५ देखि ३० प्रतिशत बढी रकम रेमिट्यान्स आउने गरेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । राष्ट्र बैंकको तथ्यांकअनुसार औषतमा दसैँताका करिब रू १०/१५ अर्ब रेमिट्यान्स नेपाल भित्रिन्छ । यसमा भारतमा काम गर्न गएका नेपालीले दसैँमा घर फर्किदा लिएर आउने रकम भने जोडिएको छैन । भारतमा हजारौंको सङ्ख्यामा नेपाली कार्यरत रहेकाले पनि यसको हिस्सा नेपालको अर्थतन्त्रमा फराकिलो हुने गर्दछ ।
अर्थ विद्हरूका अनुसार दसैँअघिका दुई–तीन हप्ताको अवधिमा वर्षभरिको कूल राष्ट्रिय उपभोगको २० प्रतिशत जति उपभोग हुने देखिन्छ । दसैँ, तिहार र छठ पर्वसम्म बजारमा करिब रू पाँच अर्बको कारोबार हुने गरेकाले पनि यो प्रमुख चाडपर्वको आर्थिक पाटो वास्तवमा नै बृहत् रहेको अर्थशास्त्री डा.लाभको भनाइ छ । खर्च गर्ने प्रवृत्ति बढ्दै जानुले व्यापारीका लागि यो समय एक किसिमले वर्षभरिलाई पुग्नेगरी नाफा कमाउने समय पनि भएको छ ।
दसैँंअघिको समयमा मात्र अन्य समयको १० महिना बराबर व्यापार हुने गरेको जलेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष लवराजा सिंहको भनाइ छ । उनको अनुसार छुट तथा विभिन्न आर्कषक योजनाका कारण पनि यसबेला बजारमा रौनक बढेको हुन्छ । यतिखेर मधेस प्रदेशको राजधानी जनकपुरधाममा दसैँंको निकै चहलपहल बढेको छ । जनकपुरका मुख्य बजारहरू शिवचोक, रामचोक, मुरलीचोक, जानकीचोकलगायतका ठाउँमा किनमेल गर्ने मानिसको बाक्लो उपस्थिति देखिन्छ ।
मेलामा खाद्यान्न सामाग्रीहरू, साबुन, अगरबत्ती, चाउँचाउँ, बिस्कुट, प्लास्टिकका भाडा वर्तन, कपडा, चप्पल जुत्ता, शृङ्गारका सामाग्रीहरू सहितका अन्य दैनिक उपभोग्य सामाग्रीहरू सहित ९४ वटा बिक्री कक्षमा राखिएको वाणिज्य संघले जनाएको छ ।
विगतमा कोरोना महामारीका कारणले सुसुप्त बनेको आर्थिक गतिविधि तीव्र बनाएर सहुलियत दरमा सामानको बिक्री वितरण गर्ने काम भइरहेकाले यसले आम तथा निम्न वर्गका उपभोक्तालाई राहत पुग्ने विश्वास गरिएको छ । जनकपुरधामको ऐतिहासिक गोपाल धर्मशालामा सुरु भएको दसैँ बजार विगत वर्षहरूमा कोरोना महामारीका कारणले नलागे पनि यसपटक धेरैले खोप लिइसकेको र कोरोना नियन्त्रणको अवस्थामा रहेकाले दसैँ बजार आयोजना गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।
सस्तो बजारको रूपमा रहेको दसैँ बजारको मूल्यमा नै जनकपुरधामको केही पसलमा मूल्यसूची राखेर उपभोग्यका सामानहरू छठसम्म बिक्री गराउने निर्णय भएको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए । दसैँ बजारबाट उपभोक्ताका साथै खुद्रा व्यापारीहरूले पनि खरिद गरेर लाने भएकाले यसमा करोडौंको कारोबार हुने गरेको छ । सोझै कम्पनीबाट नै सामानहरू जनकपुरधामको सस्तो बजारमा आउने गरेकाले सामानहरू सस्तो पर्ने गरेको जनकपुरधाम उपमहान्गरपालिकाका प्रमुख मनोज साहले जानकारी दिए ।

