एजेन्सी। पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष नजम सेठीले भारत एसियाकप क्रिकेट खेल्न पाकिस्तान नआएमा आफूहरु पनि विश्वकप खेल्न भारत नजाने स्पष्ट पारेका छन् ।
सेठीले भारतीय क्रिकेट टोली एसिया कप र २०२५ को च्याम्पियन्स ट्रफीका लागि पाकिस्तान जाँदा मात्रै पाकिस्तान क्रिकेट टोली यस वर्ष आयोजना हुने एकदिवसीय विश्वकप खेल्न भारत जाने स्पष्ट पारेका हुन् ।
सेठीले यो पनि भने कि यदि भारतीय टोली पाकिस्तानमा आयो भने उनीहरूको क्रिकेट टोलीलाई भारतको कुनै पनि शहरमा खेल्न कुनै आपत्ति छैन चाहे त्यो अहमदाबाद होस् ।
पाकिस्तानले एसिया क्रिकेट काउन्सिल समक्ष ‘हाइब्रिड मोडल’ अन्तर्गत एसिया कप आयोजना गर्न प्रस्ताव गरेको छ । यसअन्तर्गत चार खेल पाकिस्तानमा र बाँकी खेल तटस्थ स्थानमा हुनेछन् ।
यदि एसिया कप पाकिस्तानमा नहुने हो भने पाकिस्तान एसिया क्रिकेट काउन्सिलमा रहन्छ ? यो प्रश्नमा नजम सेठीले एसीसीले विचार गर्नुपर्ने बताए ।
‘पीसीबीले अब एसीसीको अध्यक्षता गर्नुपर्छ। त्यसैले हामी यसमा पर्न चाहन्छौं। पाकिस्तान बिना एसीसी हुन सक्दैन।’ उनले भने ।
एसिया कपमा भारत र पाकिस्तानले दुई खेल खेल्नुपर्नेछ । यी दुवै टोली फाइनलमा पुगेमा यी दुईबीच तेस्रो खेल हुनेछ । त्यसैले एसिया कप र काउन्सिलका लागि भारत र पाकिस्तान दुवै महत्वपूर्ण छन् ।
‘भारत पाकिस्तानमा आएर खेल्छ भने हामी पनि जान्छौं, तर पाकिस्तानमा खेल्दैन भने भारत किन जाने ?’ सेठीले प्रश्न गरेका छन् ।
एसियाकप क्रिकेट आउने सेप्टेम्बरमा पाकिस्तानमा हुने तालिका छ । एसियाकपमा नेपाल, भारत, पाकिस्ता,न बंगलादेश, श्रीलंका र अफगानिस्तानले खेल्नेछन् ।

