गैडाकोट नगरपालिकाले बजार अनुगमन गर्न सुरु गरेको छ । बजारमा अखाद्य तथा अस्वस्थकर वस्तुको किनबेचन भएको गुनासो बढेपछि बजार अनुगमन गर्न सुरु गरेको हो । पहिलो दिन बिहिबार नगरपालिकाले वडा नम्बर दुईमा रहेको अक्सफोर्ड कलेजको क्यान्टिनमा अनुगमन गरेको छ । अनुगमनका क्रममा अखाद्य वस्तुहरु फेला परेको वडा नम्बर दुईका अध्यक्ष प्रकाश सापकोटाले जानकारी दिए ।
‘क्यान्टिमा अखाद्य पदार्थ डाल्डा घिउ, कलर प्रयोग भएको छ । केही सडेका मासूसहितका म्याद सकिएका खाद्यय पदार्थ फेला परेका छन्,’ उनले भने ‘पहिलो चरणमा सुध्रने मौका दिएका छौँ ।’ कलेजको क्यान्टिनमा गन्हाउने तेल समेत प्रयोग गरेको भेटिएको बताए । बनेका परिकारको भण्डारण राम्रोसंग गर्नुपर्ने उनले बताए ।
वडा अध्यक्ष सापकोटाको नेतृत्वमा गएको अनुगमन टोलीले कलेजले शौचालय तथा बसको समेत अनुगन गरेको थियो । अनुमगनका क्रममा शौचालय प्रयोग गर्न नसकिने अवस्थाको फोहोर रहेको उनले जानकारी दिए । कलेजले फोहोर व्यवस्थापन नगरेको समेत उनले बताए । ‘कुहिने नकुहिने फोहोर एकै ठाउँमा थुपारिएको छ,’ उनले भने ‘स्कुलबाट निस्कने फोहोर नगरपालिकासंग समन्वय गरेर व्यवस्थापन गर्नुपर्ने देखिएको छ ।’
विद्यार्थी ओसार्ने बस पुरानो र फोहोर रहेको पाइएको छ । बसभित्र सिट च्यातिएका र फोहोर देखिन्छ । नगरपालिकाले सिट मर्मत गर्न सुझाव दिएको छ ।

