काठमाडौं । दशैं भनेपछि एकाधलाई छाडेर सबैको भान्सामा मासुको परिकार पाक्ने गर्दछ । दशैंको सुरुवात घटस्थापनादेखि नै मासुका परिकार खाने गरिन्छ । मासु खाँदै गर्दा आफूले खाने मासुको गुणस्तर कस्तो छ भन्ने जानकारी हुन जरुरी हुन्छ । मासु स्वस्थ्यकर छ वा छैन सबै कुरामा ध्यान दिनुपर्दछ । मासु पौष्टिक आहार हो, जसमा १४ देखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ । पौष्टिक आहार भन्दैमा यसको प्रयोग सही र उचित मात्रामा नभए यसले स्वास्थ्यलाई नकारात्मक असर पुर्याउन सक्छ । यसर्थ मासु सेवन गर्नु पूर्व निम्न कुरामा ध्यान दिनुपर्दछ ।
केको मासु सेवन गर्ने ?
मासुमा पनि दुई प्रकार हुन्छन् । पहिलो भनेको रातो मासु जुन चारखुट्टे जनावरको । खसी, बोका राँगाको मासु रातो मासु हो जसको अधिक प्रयोगले मानिसको मुटुमा असर पार्नुका साथै उच्च रक्तचाप निम्त्याउने र क्यान्सरको सम्भावना पनि बढाउँछ । त्यस्तै रातो मासुको सेवनले शरिरमा भएका विभिन्न हड्डीहरू कमजोर भई हाडजोर्नी सम्बन्धी रोग लाग्ने सम्भावना अत्यधिक हुन्छ भन्ने चिकित्सकहरूको भनाइ छ । त्यसैगरी माछा, कुखुरा र पन्छी वर्गको मासुलाई सेतो मासुका रूपमा हेरिन्छ । रातो मासुको तुलनामा सेतो मासु राम्रो मानिन्छ । सजिलै पचाउन सकिने यसको साधारण विशेषता हो भने अन्य धेरै फाइदा पनि सेतो मासुमा पाइन्छ ।
आफूले खाने खसी बोका कस्ता छन् ?
खसी बोका वा पन्छीको खरिद गर्नु पूर्व खसी बोकाको स्वास्थ्य कस्तो छ, त्यसमा पनि ध्यान दिनुपर्दछ । झोक्र्याएर बसेको अति दुब्लो, आँखा आवश्यकताभन्दा बढी रसिलो भएको, लगायत अस्वस्थ जस्तो देखिने खसी बोका किन्नुहुँदैन वा यिनीहरूको मासु खान हुँदैन । त्यस्तै मासु खरिद गर्नु पूर्व मासुको छनौटमा पनि त्यत्तिकै ध्यान पुर्याउनु पर्दछ । नेपालका धेरै वधशाला नियमअनुसार सञ्चालनमा चलेका छैनन् । अव्यस्थीत वधशालामा काटिएको खरिद गर्नुहुँदैन । त्यस्ता ठाउँबाट मासु खरिद गरी सेवन गर्नाले मासुसँगै त्यसमा भएको कीटाणुले शरिरमा प्रवेश गर्ने हुनाले रोगको सङ्क्रमण हुन्छ ।
मासु काट्ने स्थान र हात हतियार पनि सफा हुनुपर्दछ । यसर्थ मासु खरिद गर्नु पूर्व मासु किन्ने पसल, काट्ने मानिस, काटेको स्थान, अचानो, चलाएको हतियार, लगाएको पोसाक, काटेको तरिका, तराजुको सफाइमा ध्यान दिएर मात्र मासु किन्नुपर्छ ।
गुणस्तरीय मासु कसरी चिन्ने ?
स्वस्थ्य वर्द्धक मासु चिन्न नसकेको खण्डमा हाम्रो शरीरले दुःख पाउँछ । अस्वस्थ्यकर मासुको सेवनले दशैं दशैं नभई दशा पनि बन्न सक्छ । त्यसैले बाहिर झुन्ड्याएर राखिएका मासुमा ब्याक्टेरियाको सङ्क्रमण हुने हुँदा त्यस्तो मासु खरिद गर्नुहुँदैन । मासु फ्रिजमा अलग अलग गरी छोपेर सफा चलेको फ्रिजमा राखेको हुनुपर्छ । पसलमा पुग्दा तपाईँले ध्यान दिनै पर्ने कुरा हो । मासु हलुका गुलाबी रङ्गको छ भने त्यसमा केही न केही खराबी छ भन्ने बुझ्दा हुन्छ । मासु हरियो तथा प्याजी रङ्गको भएमा त्यो खान अयोग्य भइसकेको प्रस्ट हुन्छ । यस्तै मासुबाट कुनै पनि किसिमको अमिलो, बिग्रिएको, नमिठो गन्ध आएको छ भने मासु किन्नु हुँदैन । मासु काट्दा र समाउँदा धेरै तन्केको जस्तो भएमा त्यो मासु बासी हो ।
पकाउने कसरी
मासु खरिद गर्दा मात्रै नभई पकाउँदा पनि विशेष ख्याल गर्नुपर्ने हुन्छ । सफासँग पखालेको र पुरा पाकेको मासु मात्र खाने बानी बसाल्नुपर्छ । विभिन्न किसिमका धेरै मसला तथा चिल्लो पदार्थको प्रयोग कम गर्नु उपयुक्त हुन्छ । यस्तै बध गर्नासाथ मासु पकाएर खानु पनि उपयुक्त होइन । पोलेका मासु, सेकुवा, हाकु, छोइला सकेसम्म नखाएकै राम्रो हुन्छ । काँचो मासुको खाँदा विभिन्न रोग सर्ने सम्भावना हुन्छ ।
मासु पोल्दा र सुख्खा हुने गरी भुट्दा प्रयोग हुने दाउरा र ग्यासबाट हाइड्रो कार्बन उत्पन्न हुने हसनाले पेट र छालामा क्यान्सर हुन सक्ने सम्भावना हुन्छ । मासुमा गुलियो पदार्थ र प्रोटिन हुने हुँदा मासु पोल्दा त्यसमा एक्रिल्यामिडिएस उत्पन्न हुन्छ, जुन क्यान्सरका लागि सहयोगी बन्छ । रगत पकाएर खाने प्रचलन भए पनि त्यसले खासै फाइदा गर्दैन ।
उपयुक्त भण्डारण विधि
दसैंमा एकै पटक धेरै मासु काट्ने चलन हुन्छ । यस्तो बेला मासुको भण्डारणमा पनि ध्यान दिनुपर्छ । मासुलाई अन्य पाकेका परिकारहरूसँगै फ्रिजमा त्यतिकै राख्नुहुँदैन । मासुलाई फ्रिजमा राख्दा जहिले पनि छोपेर राख्ने गर्नुपर्छ । ताजा मासुलाई २ देखि ४ डिग्री सेन्टिग्रेडमा फ्रिजमा ४८ घण्टासम्म भण्डारण गर्न सकिन्छ । सामान्य फ्रिजमा भन्दा डि–फ्रिजमा मासु राख्नु उपयुक्त हुन्छ । अझ बिर्सनै नहुने कुरा काँचो मासु र पाकेको मासु एकै स्थानमा राख्नु पनि उपयुक्त हुँदैन । यदि जथाभाबी रूपमा काटिएका पशुपन्छीको मासु खरिद गरी सेवन गरेको खण्डमा प्राण घातक रोग लाग्न सक्छन् । यसर्थ मासु सेवन गर्नु पूर्व पशुपन्छीको स्वास्थ्यदेखि वधशालाको सफा हुनुका साथै राम्ररी पकाएको मासु मात्र सेवन गर्नु स्वास्थ्यका लागि फाइदा जनक हुन्छ । त्यस्तै शरीरलाई अपच हुने गरी पनि खानुहुँदैन ।

