भक्तपुर । दसैँको लागि मुस्ताङ हुँदै ल्याइएको च्यांग्राको मूल्य यसवर्ष अत्यधिक बढेको छ । भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी चौरमा दुई हजार ५०० च्यांग्रा, तीन हजार खसी बोका बिक्रीका लागि ल्याइएको छ ।
आज फूलपातीको दिन बिहानैदेखि च्यांग्रा, खसी, बोका खरिद गर्नका लागि ग्राहकको भीड लागेको छ । भक्तपुर मात्रै नभई काठमाडौं, ललितपुर र काभ्रदेखिका बासिन्दाहरू च्यांग्रा लिन भक्तपुर आएपछि व्यापारीले प्रतिकिलो जिउँदाे च्यांग्रा रू.एक हजार ३५० मा बिक्री गरेका छन् ।
च्यांग्रा कम हुँदै गएकाले भोलिबाट भने अझै रू.१०० मूल्य बढ्न सक्ने व्यापारी बताउँछन् । यो मूल्य गतवर्षको भन्दा दोब्बर मूल्य हो । यहाँका व्यापारीले गत वर्ष जिउँदो च्यांग्रा प्रतिकिलो रू.८०० मा बिक्री गरे पनि यसवर्ष भने रू.एक हजार ३५० मूल्य राखेर बिक्री गरेका छन् ।
रामेछापका च्यांग्रा व्यापारी हिमलाल श्रेष्ठले गतवर्ष भन्दा यसवर्ष मुस्ताङको घारमै मंहगो तिर्नु परेकाले मूल्य बढेको बताए । सल्लाघारी चौरमा च्यांग्रा बिक्री गर्दै उनले भने,‘चीनबाट मुस्ताङसम्म ल्याईएको च्यांग्रा नेपाली व्यापारीले मुस्ताङबाट खरिद गर्दा च्यांग्रा प्रति गोटा रू.४० देखि ४२ हजारसम्म तिुर्न परेकाले यसवर्ष च्यांग्रा मंहगो भएको हो ।’
च्यांग्रा ल्याउँदा मासु जोखेर नभई सानो ठूलो मिलाएर गोटा गन्तीबाट खरिद गरेर ल्याउनु परेको भन्दै उनले सानो र ठूलोको एउटै मूल्य तिरेर ल्याउनु पर्ने र यहाँ किलोमा बिक्री गर्नु पर्दा च्यांग्रा मंहगो परेको बताए ।
अर्का व्यापारी रमेश खड्काले पनि च्यांग्रा प्रतिकिलो रू.१३ सय ५० सम्ममा बिक्री गरेको भन्दै मुस्ताङमै च्यांग्राको मूल्य बढेकाले यसवर्ष यहाँ पनि मूल्य बढेको बताए ।
उनले सानो च्यांग्रा प्रति गोटा रू.३६ हजार र ठूलो च्यांग्रा रू.४० हजारमा व्यापारीले खरिद गरेर ल्याएको बताए । च्यांग्रा तयारी मासुको मूल्य भने रू दुई हजार ७०० रहेको छ ।
सल्लाघारीमा च्यांग्राको तयारी मासु २७ सयमा बिक्री गरेको बताउँदै व्यापारी सुमन शाहीले गतवर्ष तयारी मासु रू.१७ सयमा बिक्री गरेपनि यसवर्ष किलोमै रू.११ सय रूपैयाँ बढी मूल्यमा बिक्री गर्नु परेको बताए ।
भेडा बिक्री हुन छाडे पछि यसवर्ष व्यापारीले काठमाडाैं उपत्यकामै करि ५० वटा मात्रै ल्याए पछि भक्तपुरमा भने भेडा नल्याएको उनले बताए । च्यांग्रा ल्याउँदा यसवर्ष विभिन्न ठाउँमा रू.२७ हजार कर तिरेको र सल्लाघारीमा ठाउँ लिए बापत भक्तपुर नगरपालिकालाई एक व्यापारीले रू.२५ हजार कर तिरेको बताए । भक्तपुर नगरपालिकालाई कर तिरे पनि नगरपालिकाले एउटा अस्थायी शौचालयसम्मको व्यवस्था नगरेको व्यापारीको गुनासो रहेको छ ।
च्यांग्रा व्यवसायी राजाराम श्रेष्ठले भक्तपुर नगरपालिकाले एउटा गोठबाट रू। २५ हजार भाडा लिए पनि शौचालयसम्म नदिएको गुनासो गरे । उनले भने,‘भक्तपुर नगरपालिकाले एउटा गोठको भाँडा रू.२५ हजार लिएको छ, यहाँ २० वटा भन्दा बढी गोठ छ, अस्थायी भए पनि शौचालय बनाइदिन आग्रह गर्दा उल्टै खाल्डो खनिदिएका छौँ त्यसमै गर भनेर गए, खुल्ला शौचालय गर्नु पर्ने बाध्यता पो छ त ।’
नगरपालिकाले व्यापारीलाई बत्ति समेत नदिएको गुनासो गरेका छन् । नगरपालिकाले तयारी मासु बिक्री गर्ने प्रत्येक व्यापारीसँग रू.१० हजारका दरले भाडा लिएको छ ।
चौरमा १४ वटा तयारी मासु बिक्री गर्ने अस्थायी मासु पसल छन् । मासु व्यापारी कुर्णबहादुर शाहीले नगरपालिकाले एउटा पसलबाट रू.११ हजार भाडा लिएको बताउँदै शौचालय र बत्ति समेतको व्यवस्था नगरपालिकाले नगर्दा महिलालाई समेत निकै समस्या परेको गुनासो गरे ।
सल्लाघारीमा खसी प्रतिकिलो रू.६५० देखि ७०० रूपैयाँसम्ममा बिक्री भएको छ । खसी व्यापारी सिन्धुपाल्चोकका मंगल श्रेष्ठले खसीको जात र ठाउँ अनुसार मूल्य फरक परेको बताए ।
यहाँ २२ किलोदेखि ९० किलोसम्मका खसी आफूले बिक्री गरेको बताउँदै सरकारले निर्धारण गरेको मूल्यमा सबै जातका खसी बिक्री गर्न नसकिएको बताउँछन् । बोका पनि उही मूल्यमा बिक्री भइरहेको उनले बताए । खसीको तयारी मासु भने प्रतिकिलो रू.एक हजार ४०० मा बिक्री भइरहेको छ ।
भक्तपुरको हनुमानघाट र थिमिको कमेरोटारमा राँगो बिक्री भइरहेको छ । त्यस्तै भेलुखेल, च्यामासिंह लगायतका ठाउँमा बोका र खसी बिक्री भइरहेको छ ।
हनुमानघाट र कमेरोटारमा १००० भन्दा बढी राँगा बिक्रीका लागि राखिएका छन् । रामेछाप, पश्चिमका तराई जिल्लाबाट र भारतबाट ल्याएको राँगाहरू प्रतिराँगा २५ हजारदेखि ८५ हजारसम्ममा बिक्री भएकोे व्यापारीहरू बताउँछन् ।
भक्तपुरका नेवार समुदायले दसैँमा फुलपातीका दिन विभिन्न टोलका गुठीहरूबाट राँगो काट्ने र घर–घरमामासु भित्र्याउने परम्परा रहेको छ भने नवमीसम्म नै विभिन्न गुठी समूहहरूले टोल–टोलमा राँगा बलिदिने परम्परा रहेको छ ।

