पीएनजीविरुद्ध ९ विकेटको जीत दर्ता गर्दै नेपाल आईसीसी क्रिकेट विश्वकपको ग्लोबल छनोटनजिक पुगेको छ ।
अब अन्तिम खेलमा बिहीवार यूएईलाई पराजित गर्न सके नेपालले जुलाइमा जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छ ।
कीर्तिपुर मैदानमा सोमवार पीएनजीले दिएको ९६ रनको लक्ष्य नेपालले ७ ओभर ४ बलमा १ विकेटको क्षतिमा पूरा गर्यो ।
त्यसक्रममा आसिफ शेखले २१ बलमा ८ चौका र ३ छक्काको मद्दतले ५३ रनको योगदान गरे । कुशल भुर्तेलले ३३ र कुशल मल्लले १२ रन जोडे ।
यसअघि टस जितेर पहिले फिल्डिङ गरेको नेपालले पीएनजीलाई ९५ रनमा अलआउट गरेको थियो ।
त्यसक्रममा सन्दीप लामिछानेले आफ्नो स्पेलको १० ओभरमा १ मेडन राख्दै २५ रन खर्चिएर ५ विकेट लिए ।
नेपालका लागि सन्दीपका अलावा ललित राजवंशी र कुशल मल्लले समान २ तथा सोमपाल कामीले १ विकेट लिए ।
लिग टुमा नेपालले अब यूएईसँग एक खेल खेल्न बाँकी छ ।
बिहीवार हुने उक्त खेल जितेमा नेपाल सिधै विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।
हारेमा भने आगामी महिना नामिबियामा हुने प्लेअफ खेल्नुपर्नेछ ।

