काठमाडौँ- सत्ता गठबन्धनको बैठकले मन्त्रालयको बाँडफाँट टुग्याएको छ। बुधबार बालुवाटारमा बसेको सत्ताधारी गठनबन्धको बैठकले मन्त्रालयको संख्या बाँडफाँट टुंग्याएको हो।
कुन दललाई कति मन्त्रालय भन्ने एकसरो समझदारी जुटाएको जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए। ‘मन्त्रालय भागबन्डा लगभग टुंगिएको छ। भोलि बेलुकीसम्म मन्त्रिपरिषद विस्तार हुन्छ,’ श्रेष्ठले भने, ‘राष्ट्रिय जनमोर्चाबाहेक ९ दल सरकारमा सहभागी हुन्छन्।’
बालुवाटार स्रोतका अनुसार नेपाली कांग्रेसले ८ मन्त्रालय पाउने गरी सहमति भएको छ। तर उसले कुन-कुन मन्त्रालय पाउने भन्ने टुंगिएको छैन। माओवादीले हाल कायमै रहेका ५, जसपा र एकीकृत समाजवादीले २/२ र बाँकी दलले एक/एक मन्त्रालय पाउने सहमति भएको स्रोतको भनाइ छ।
नेकपा एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री दाहालले १६ मन्त्रालयको जिम्मेवारी लिँदै आएका छन्। तिनै मन्त्रालय ९ दलले भाग लगाएका हुन्।
‘भोलि मन्त्रिपरिषद् पूर्णतै हुन्छ नि! सबै काम सिकएको छ। सबैले आफ्नो भागमा परेको मन्त्रीको नाम प्रधानमन्त्रीलाई दिन बाँकी छ,’ श्रेष्ठले भने, ‘मन्त्रालयको संख्या टुंगिएपनि विकासे,सामाजिक काम गर्ने र शक्तिशाली मानिने मन्त्रालयबीच सन्तुलन मिलाउने काम भने बाँकी छ। अझै एक पटक शीर्ष नेताबीच छलफल गरेर मन्त्रालयको नाम पनि टुंगिन्छ।’
उनले बाधा अड्काउ सबै फुकिसकेकाले अहिलेको सहमतिअनुसार रास्वपालाई भने मन्त्रालयको भाग छुट्याइएको छैन। २१ वटै मन्त्रालय बाँडफाट भएको श्रेष्ठले जानकारी दिए।

