काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्धको रिट कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा परेको छ।
देशका प्रमुख प्रशासनिक केन्द्रको फोहोर नउठाउने बालेनको निर्णयविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारलाई समेत विपक्षी बनाइ सोमबार हालेको रिटको पेशी आठौँ नम्बरमा छ।
महानगरले चैत २६ गतेदेखि सिंहदरबार, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र राष्ट्रपतिको कार्यालय शीतलनिवासको फोहोर उठाएको छैन।
चैत २४ गते महानगरपालिकाले गौरिगाउँको सुकुम्बासी बस्ती हटाउन खोज्दा तनाव भएको थियो। बल प्रयोग गरेर बस्ती खाली गर्ने उद्देश्यले महानगरले गृह मन्त्रालयलाई अनुरोध गरे पनि गृहले बस्ती खाली गर्न सहयोग नगरेको भन्दै त्यसको भोलिपल्ट मेयर बालेनले सामाजिक सञ्जालमार्फत केन्द्रले आफूहरूलाई असहयोग गरेले सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका थिए।
महानगरलाई केन्द्रले असहयोग गरेका १४ आरोप लगाउँदै उनले फोहोर उठाउन रोक लगाएका छन्।

