हुम्लाको दुर्गम बस्तीमा विद्युत् सेवा सर्वसुलभ नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या हुने गरेको छ ।
विशेषगरी स्वास्थ्य चौकीमा प्रसूति गराउन समस्या हुने गरेको जनाइएको छ । ‘टर्च’ बालेर सुत्केरी गराउनुपर्ने बाध्यता रहेको स्वास्थकर्मीको भनाइ छ ।
विद्युत् आपूर्ति गर्दै आएको हिल्दुम विद्युत् वितरण केन्द्रको चर्को लोडसेडिङका कारण स्वास्थ्यकर्मीलाई ‘मोबाइल’ र अन्य ‘टर्च’ बालेर सुत्केरी गराउनु परेको हो ।
ठेहे स्वास्थ्य चौकीका प्रमुख दानबहादुर बोहराले भने, “मोबाइल र टर्च बालेर सुत्केरी गराउनुपर्ने बाध्यता रहेको छ । हिल्दुम विद्युत् वितरण केन्द्रबाट आपूर्ति हुने विद्युत् नियमित नहुँदा गर्भवतीलाई सुत्केरी गराउन समस्या हुने गरेको छ । ”
यही वैशाख ४ मा प्रसूतिगृहमा आएकी २० वर्षीया नन्द भण्डारीलाई तीन घण्टा लामो समय टर्च बालेर प्रसूति गराउनु परेको गुनासो प्रमुख बोहोराले गरे ।