नेपालका लेग स्पीनर सन्दीप लामिछानेले दुर्लभ विश्व कीर्तिमान कायम गरेका छन् ।
एसीसी प्रिमियर कपमा ओमानविरुद्ध एक विकेट लिएपछि सन्दीपले एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विकेट लिने विश्व कीर्तिमान बनाएका हुन् ।
उनले विश्व कीर्तिमान बनाएपछि नेपाली टिमका पूर्व कप्तान पारस खड्काले सबैभन्दा छिटो एक सय विकेट लिएकोमा ‘वेल डन सन्दीप’ भन्दै बधाई दिएका हुन् ।
पारसले ‘वल्र्ड रेकर्ड एलर्ट । फास्टेस्ट इभर टु हन्ड्रेड ओडिआई विकेटस् । वेलडन सन्दीप लामिछाने’ भन्दै सन्दीपको कीर्तिमानमा खुशी व्यक्त गरेका हुन् ।
यो कीर्तिमान यसअघि अफगानिस्तानका रशिद खनाको नाममा थियो । उनले ४४ खेलबाट सय विकेट लिएका थिए ।
एसीसी प्रमियर कप अन्तर्गत ओमानविरुद्धको खेलमा सन्दीपले कीर्तिमानी विकेट हात पारेका हुन् ।
सन्दीप र रशिदपछि अस्ट्रेलियाका मिचेल स्ट्राक ५२ खेलमा १ सय विकेट पूरा गरेर तेस्रो स्थानमा छन् ।
सन्दीप एकदिवसीयमा छिटो ५० विकेट लिने दोस्रो खेलाडी पनि हुन् । २०२२ मा पपुवा न्यगिनीविरुद्ध २२ खेलमा सन्दीपले ५० विकेट पूरा गरेका थिए ।
सन्दीप अगाडि श्रीलंकाका अजन्था मेन्डिसको नाममा यो कीर्तिमान छ । उनले १९ खेलमा ५० विकेट लिएका थिए ।

