लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती गाडी सिक्ने क्रममा दुर्घटनामा परेका छन् ।
लु १ झ ४५२ नम्बरको महेन्द्र टाटा स्कारपियो सरकारी गाडी चलाउने क्रममा बुटवल रामनगरस्थित निवासको पर्खालमा ठोक्किएको एक कर्मचारीले बताए ।
प्रदेशसभाका प्राविधिक सुरज ढकालले गाडी मर्मतका क्रममा रहेको र दुर्घटनाबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए । घटना पाँच दिन अघिको भए पनि गुपचुप पारिएको थियो ।
सभामुखको सचिवालयका अनुसार उक्त गाडी सभामुख आफैले सिक्ने क्रममा दुर्घटनामा परेको थियो ।
गाडीको बाहिरी भागमा ठूलो क्षति नदेखिएको भए पनि भित्र क्षति पुगेको छ ।
यसअघि पनि सभामुखको सचिवालयका एक कर्मचारीले गाडी सिक्दै गर्दा लु १ झ ४४७ नम्बरको टाटा स्ट्रोम जिप दुर्घटनामा परेको थियो ।
उक्त दुर्घटनामा विद्युतको पोल ढल्नुका साथै स्थानीय डिल्लीराज अर्यालको घरमा क्षति पुगेको थियो । त्यो विवाद नमिल्दा दुर्घटनामा परेको गाडी मर्मत हुन सकेको छैन ।
उक्त गाडी दुर्घटनामा क्षति भएका घरधनीले घर मर्मतका लागि २० लाख रूपैयाँ दावी गरेका कारण विवाद नमिलेपछि वडा प्रहरी कार्यालयमा थन्किएको छ ।