रुकुम पश्चिममा भएको जीप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
जिल्लाको बाँफिकोट गाउँपालिका–८ दुलीमा बिहीवार बिहान लु १ ज १७४७ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको कर्णाली प्रदेशका प्रहरी प्रवक्ता एसएसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा १० जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि हेलिकप्टरमार्फत नेपालजञ्ज लगिएको छ ।
सानीभेरी गाउँपालिका–३ घ्युढुंगाबाट मुसीकोटका लागि छुटेको जीप दुर्घटनामा सानीभेरी ५ का ७० वर्षीय कर्णबहादुर बाठा र ५० वर्षीय देउचन खत्री, बाँफीकोट ८ की २२ वर्षीया रेखा खत्री, उनका छोरा रोशन अर्का एक जनाको मृत्यु भएको एसएसपी भट्टराईले जानकारी दिए ।
प्रहरीका अनुसार जीपमा १५ जना सवार रहेका थिए । जीप सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।
दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

