प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको नागरिकता विधेयक निष्क्रिय पारेर नयाँ संशोधन प्रस्ताव राखी संसद्मा छलफल गर्नुपर्ने माग गरेको छ । आइतवार प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै एमालेले विधेयक निष्क्रिय गरेर नयाँ संशोधन प्रस्ताव ल्याउन माग गरेको हो ।
त्यसो नगरिए संसद् चल्न नदिने एमालेका प्रमुख सचेतक पदम गिरीले बताए । एमालेको अवरोधका कारण संसद् बैठक एक घण्टाका लागि स्थगित भइसकेको छ ।
यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा दिएको सीमासम्बन्धी अभिव्यक्तिबारे संसदमा आएर जवाफ दिनुपर्ने एमालेको माग छ ।
एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी पनि नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध उभिएका छन् ।
राप्रपाले समेत यसबारे सदनमा जवाफ नदिएसम्म संसद् चल्न नदिने चेतावनी दिएको छ ।