आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज (मंगलवार) अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ । अमेरिका र नेपालबीचको खेल जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा नेपाली समयाअनुसार मध्याह्न पौने १ मा शुरू हुनेछ ।
यसअघि आइतवार भएको पहिलो खेलमा घरेलु टोली जिम्बाबेसँग नेपाल ८ विकेटले पराजित भएको थियो भने अमेरिका वेस्टइण्डिजसँग पराजित भएको थियो ।
नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग २२ जुन अर्थात असार ७ मा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग २४ जुन अर्थात असार ९ मा खेल्नेछ ।
समूह ए मा नेपाल, नेदरल्यान्ड्स, अमेरिका, जिम्बावे र वेस्टइन्डिज छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, ओमान, युएई र स्कटल्यान्ड छन् ।
हरेक समूहबाट शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउने छन् । जसबाट सुपर सिक्समा अर्को समूहबाट आउने तीन टोलीसँग खेल्नुपर्ने हुन्छ ।
सुपर सिक्समा शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।