काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले देशको सार्वभौमिकताका विषयमा कानूनको पालना नगर्ने बताएका छन् । बिहीवार सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् ।
आफू जुनसुकै सजाय भोग्न तयार रहेको तर भारतीय फिल्म चल्न नदिने उनको अडान छ । ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानून र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधीनमा थियो भनेपछि उनीहरूको नियत थाहा हुन्छ’ उनले लेखेका छन्, ‘ यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधीनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुजिन्छ । यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।’
उच्च अदालत पाटनका न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले बिहीवारनै भारतीय फिल्मलगायत सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

