संयुक्त राष्ट्रसंघीय खाद्य एवम् कृषि संगठन (UNFAO) र World Food Forum Nepal को आयोजनामा चितवनका विभिन्न क्याम्पसहरुमा दिगो विकास लक्ष्य (SDGs), लक्ष्य प्राप्तिका लागि हालसम्म नेपालले गरेका प्रयासहरु सम्वन्धि अभिमुखीकरण कार्यक्रम सन्चालन गरिएको छ । चितवनका सप्तगण्डकी बहुमुखी क्याम्पस, बालकुमारी कलेज, मैयाँ देवी कन्या क्याम्पस, मिलेनियम मोडल कलेज, श्री मेडिकल एण्ड टेक्निकल कलेज तथा नेपाल पोलिटेक्निकल ईन्स्टिच्युट गरी ६ वटा शैक्षिक संस्था छनौट गरी विद्यार्थीहरुलाई दिगो विकासका विविध पक्षहरुमा जानकारी गराउने कार्यक्रम रहेको संस्थाका चितवन संयोजक शुवर्ण घिमिरेले पत्रिका प्रेसलाई बताएका छन ।

यसै विच आज सप्तगण्डकी बहुमुखी क्याम्पसको वातावरण विज्ञानका विद्यार्थीहरुको क्लब Club of Environmental Science Saptagandaki (CESS) को संयोजनमा क्लबका अध्यक्ष सुगम धितालको अध्यक्षतामा, क्याम्पस प्रमुख खिमलाल दाहालको प्रमुख आतिथ्यतामा, विभागीय प्रमुख, प्राध्यापक तथा विद्यार्थीहरु लगाएत करिव ३५ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा सप्तगण्डकी क्याम्पस वातावरण विज्ञान विभागका सहायक प्राध्यापक ध्रुब आचार्यले ले आफ्नो भनाई राख्ने क्रममा भने “विश्वमा औधोगिककरण संगसंगै देखिएका वातावरणीय समस्याहरु संग जुध्न, विकास र वातावरणको सन्तुलन कायम गर्न, विकास निर्माणका कार्यहरु गर्दा वातावरणीय सन्तुलनलाई समेत ध्यान दिन आवस्यकता महसुस गरी सन १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पृथ्वी सम्मेलनले दिगो विकासको अवधारणा अन्तर्गत एजेन्डा ट्वान्टीवान (Agenda 21) सार्बजनिक गरी दिगो विकासलाई आधिकारिक रुपमा अगाडी सारेको हो । आर्थिक विकास, सामाजिक विकास तथा वातावरण संरक्षण दिगो विकासका तीन खम्वा हुन । विनास विनाको विकास नै दिगो विकास हो । वर्तमानको आवश्यकता सम्झौता नगरिकन भावी पुस्ताको आवश्यकता पुर्ति गर्दै जानु दिगो विकास हो । वातावरण संरक्षणका लागि दिगो विकास महत्त्वपुर्ण मानिन्छ । दिगो विकासको ध्येय पृथ्वीका स्रोत साधन नास नगरी आर्थिक र सामाजिक विकास गर्नु हो । दिगो विकास सम्पुर्ण जिवित मानिसहरूको कल्याणमा केन्द्रित हुन्छ । विकास निर्माणमा वातावरण प्रतिकुल कार्य गरिए विकासबाट आशा गरिएका लक्ष्यसम्म पुग्न कठिन हुन्छ । “
कार्यक्रमका अर्का प्रशिक्षक तथा कृषि विज्ञ स्वीकृति सुवेदिले दिगो विकास लक्ष्यको सुरुवात कसरि भयो भन्ने विषयमा आफ्नो प्रस्तुति गरेकि थिईन । उनले भनिन “दिगो विकास लक्ष्य कार्यान्वयन गर्नु अधि संयुक्त राष्ट्र सङ्घीय सम्मेलनको घोषणा पत्रद्बारा सन् २००० को सेप्टेम्वरमा सहस्राब्दी विकास लक्ष्य जारी गरिएको थियो, यस विकास लक्ष्यमा ८ वटा उद्देश्य, १८ वटा लक्ष्य र ४८ वटा सूचकहरू समावेश गरिएको, तथा यसको समय अवधि सन २००० देखि २०१५ लाई तोकिएको थियो। “
दिगो विकास लक्ष्य एउटा साहसिक र विश्वव्यापी सम्झौता हो जसले सन् २०३० सम्ममा सबै प्रकारका गरिबीको उन्मूलन गरी मानव, पृथ्वी र समृद्धिको लागि एक समान, न्यायपूर्ण र सुरक्षित विश्व निर्माण गर्ने परिकल्पना गर्दछ । दिगो विकासका १७ लक्ष्य तथा १६९ सहायक लक्ष्यहरु दिगो विकासका लागि एजेण्डा २०३० को एउटा भाग हो, जुन संयुक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्रहरु सम्मिलित सेप्टेम्बेर २०१५ को ऐतिहासिक राष्ट्रसंघीय साधारण सभाको शिखर सम्मेलनले पारित गरेर जनवरी १, २०१६ देखि लागू गरेको छ । विश्वभरका राष्ट्रिय सरकारहरु तथा लाखौँ नागरिकहरुलाई एउटै थलोमा ल्याई यी महत्वाकांक्षी कार्यसूचीमा व्यापक छलफल र परामर्श गरी यी दिगो विकास लक्ष्यहरू तय गरिएका हुन् ।
नेपालको सन्दर्भमा सरकारले ४१४ ओटा दिगो विकासका सूचकहरु निर्धारण गरेको छ । दिगो विकास लक्ष्य कार्यान्व्यनको लागि सरकारले राष्ट्रिय तहमा तीनओटा उच्चस्तरीय समितिहरु गठन गर्ने व्यवस्था गरेको छ । राष्ट्रिय निर्देशन समितिःको अध्यक्षता प्रधानमन्त्रीले गर्छन् । उक्त समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, अर्थ मन्त्री, परराष्ट्र मन्त्री, मुख्य सचिव र राष्ट्रिय योजना आयोगका सचिव रहने व्यवस्था गरेको छ ।
प्रशिक्षक सुवर्ण घिमिरेले दिगो विकासका १७ लक्ष्यहरुको बारेमा जानकारी दिएका थिए । दिगो विकासका १७ वटा लक्ष्यहरुमा सबै ठउँबाट सबै किसिमका गरिबीको अन्त्य गर्ने, भोकमरीको अन्त्य गर्ने, खाद्य सुरक्षा तथा उन्नत पोषण सुनिश्चित गर्ने र दिगो कृषिको प्रवद्र्धन गर्ने, सबै उमेर समुहका व्यक्तिका लागि स्वस्थ जीवन सुनिश्चित गर्दै समृद्ध जीवन प्रवर्धन गर्ने, लैङ्गिक समानता हासिल गर्ने र सबै महिला, किशोरी र बालिकालाई सशक्त बनाउने, सबैका लागि स्वच्छ पानी र सरसफाईको उपलब्धता तथा दिगो व्यवस्थापन सुनिश्चित गर्ने, सबैका लागि किफायती, विश्वसनीय, दिगो र आधुनिक उर्जामा पहुँच सुनिश्चित गर्ने, भरपर्दो, समावेशी र दिगो आर्थिक वृद्धि तथा सबैका लागि पूर्ण र उत्पादनमुलक रोजगारी र मर्यादित कामको प्रवर्धन गर्ने, उत्थानशिल पूर्वाधारको निर्माण, समावेशी र दिगो औद्योगीकरणको प्रवर्धन र नवीन खोजलाई प्रोत्साहन गर्ने, मुलुक भित्र तथा मुलुकहरुबीचको असमानता घटाउने, शहर तथा मानव बसोबासलाई समावेशी, सुरक्षित, उत्थानशिल र दिगो बनाउने, दिगो उपभोग र उत्पादन प्रणाली सुनिश्चित गर्ने, जलवायु परिवर्तन र यसको प्रभाव नियन्त्रण गर्न तत्काल पहल थाल्ने, दिगो विकासका लागि महासागर, समुद्र र समुद्री साधन स्रोतहरुको दिगो प्रयोग तथा संरक्षण गर्ने, स्थलीय पर्यावरणको संरक्षण, पुनस्र्थापना र दिगो उपयोगको प्रवर्धन गर्ने, वनको दिगो व्यवस्थापन गर्ने, मरुभूमिकरण र भूक्षय रोक्ने तथा जैविक विविधताको संरक्षण गर्ने, दिगो विकासको लागि शान्तिपूर्ण र समावेशी समाजको प्रवर्धन गर्ने, सबैको न्यायमा पहुँच सुनिश्चित गर्ने र सबै तहमा प्रभावकारी, जवाफदेही र समावेशी संस्थाको स्थापना गर्ने र दिगो विकासका लागि विश्वव्यापी साझेदारी सशक्त बनाउने र कार्यान्वयनका लागि स्रोत साधन सुदृढ गर्ने रहेका छन् ।