चितवन, जेठ १५ – नेकपा एमाले चितवनको ११ औं जिल्ला अधिवेशनबाट आगामी नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ। दिउँसो २:३० बजे मतगणना सुरु गर्ने भनिएको भएपनि निर्वाचन कमिटी र उम्मेदवारहरुको बैठक लगायतले ढिलो गरि अहिले ४ बजे पछि मात्रै मतगणना सुरु भएको हो ।
आज मंगलबार ग्यालेक्सी गार्डेन रिसोर्ट लंकुमा बिहान ७:३० बजे देखि शुरू भएको निर्वाचन कार्यक्रममा ७३१ जना प्रतिनिधिहरूले मतदान प्रक्रियामा सहभागी भएका थिए ।
नेकपा एमाले चितवनको ११ औं जिल्ला अधिवेशनको समुद्घाटन जेठ १२ गते भएको थियो। अधिवेशनमा ७६४ जना प्रतिनिधि रहेका छन् ।
आगामी नेतृत्वका लागि अध्यक्ष पदमा कमलराज पाठक र घनश्याम कंडेल , उपाध्यक्ष पदमा कृष्ण कुमार डल्लाकोटी र श्यामकुमार विष्ट, सचिव पदमा पदमपाणी सुवेदी र प्रकाश ढुङ्गाना, सहसचिव(खुला) पदमा केशव आचार्य, गोपाल परियार, टिकाराज रिजाल र मिनबहादुर परियार, उपसचिव (महिला) पदमा जानकी शर्मा र ज्वाला पुरी वनबीच प्रतिष्पर्धा रहेको छ । आजै बेलुका सम्म सबै पदको नतिजा आइसक्ने जनाइएको छ ।