चितवन , असार १५ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वी चितवनको बछ्यौलीमा मेसिनद्वारा धानरोपाईं गर्नुभएको छ ।
पहिलोपटक काठमाडौंबाहिर आयोजित (२१औँ) राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव कार्यक्रममा सहभागी रहँदै प्रधानमन्त्री प्रचण्डसहित कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी शाह र बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मेसिनबाट धान रोपाईं गर्नुभएको हो ।
सो अवसरमा बोल्दै प्रधानमन्त्री दाहालले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसार सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।
धान उत्पादन बढाएर आयात प्रतिस्थापन गरी धान चामलमा आत्मनिर्भर हुन विशेष योजनाका साथ क्रियाशील हुनुपर्ने बताउँदै उहाँले धानको उत्पादन बढाउन वर्तमान सरकारले रासायनिक मल र गुणस्तरीय बीउको उपलब्धता, प्रविधि विस्तार, अनुसन्धान र विकास तथा न्यूनतम समर्थन मूल्यको कार्यान्वयनलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी शाहले कृषकलाई सम्मान हुनेगरी मन्त्रालयले उत्पादनमा जोड दिई उत्पादन र बजारीकरणका लागि काम गरिरहेको बताउनुभयो । त्यस्तै, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चितवनलाई बीउ उत्पादनको पकेट क्षेत्रको रुपमा विकास गरिने बताउनुभयो ।

