भरतपुर । वैदेशिक रोजगारको प्रमुख कारणले चितवनका कलेजहरुमा विद्यार्थी संख्या घट्दै गइरहेकोमा चिन्ता प्रकट गरिएको छ । पछिल्लो समय चितवनमा विद्यालय तहदेखि उच्च शिक्षासम्म विद्यार्थीको संख्या निरन्तर घट्दै गएपछि सरोकारवालाहरुले चासो र चिन्ता प्रकट गरेका छन् ।
शनिबार भरतपुरमा सम्पन्न ‘बदलिँदो परिस्थितिमा उच्च शिक्षा पाठ्यक्रम, शिक्षण विधि, मूल्याङ्कन र नेतृत्व’ विषयक शैक्षिक गोष्ठीमा सरोकारवालाहरुले विद्यार्थी संख्या घट्दाको असरबारे ध्यानाकर्षण गराए ।
गोष्ठीमा नेपालमा सन् २०१२/१३ मा १२ लाख ७६ हजार विद्यार्थी कक्षा १ मा भर्ना भएकोमा १० वर्षपछि कक्षा १० मा सन् २०२३ मा पाँच लाख १३ हजार ६०० ले मात्र कक्षा १० को परीक्षा दिइएको तथ्याङ्क प्रस्तुत गरिएको छ । त्यस्तै, विश्वविद्यालयमा पनि विद्यार्थीको पढाइ छाड्ने क्रम बढ्दै गएको र नतिजा पनि खस्कँदै गएको विभिन्न अनुसन्धानका तथ्यहरु प्रस्तुत गरिएको छ । क्याम्पसहरुमा वार्षिक परीक्षा प्रणालीमा भर्ना भएका विद्यार्थीमध्ये ५० प्रतिशत बढीले बीचमा नै पढाइ छाडेर विदेश जाने गरेको पाइएको छ ।
चितवनका सरकारी र निजी शिक्षण संस्थाका प्रमुखहरु सहभागी कार्यक्रममा कृषि तथा वन विश्वविद्यालयकी रजिष्टार प्राध्यापक डा. शारदा थपलियाले विद्यार्थीहरु नेपालमा नबस्ने चिन्ताको विषय भएको बताइन् ।
काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनका डिन प्राध्यापक डा. बालचन्द्र लुँइटेलले राजनीतिक हस्तक्षेप, शिक्षामा केन्द्रिकृत मानसिकता, पढाइमा नतिजा प्रकाशनमा ढिलाइजस्ता कारणले विश्वविद्यालयप्रति विद्यार्थीको विकर्षण बढेको विचार राखे । उनले भने, ‘अब विद्यालयमा शिक्षकले भविष्य दिने होइन, निर्माण गर्नुपर्छ । हाम्रो विश्वविद्यालय र विद्यालय शिक्षामा सही नेतृत्वको अभाव छ ।’ प्रा.डा लुइँटेलले त्रिभुवन विश्वविद्यालयको जस्तै काम गर्ने हो भने नेपालमा अन्य विश्वविद्यालयको आवश्यकता नै नभएको बताए ।
सप्तगण्डकी बहुमुखी क्याम्पसका सहप्राध्यापक बसन्तराज लामिछानेले सहजीकरण गरेको समूहगत छलफलमा वीरेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक डा.दायाराम पौडेलले व्यवस्थापनमा कमजोरी देखिएकोले विश्वविद्यालयहरु पछाडि परेको बताए ।
उनले सरकारी विद्यालयमा शिक्षक र सेवा सुविधा राम्रो हुँदा पनि उत्कृष्ट नतिजा नआउनु र बोर्डिङ स्कुलमा राम्रो नतिजा आउनु व्यवस्थापनकै कारणले भएको विचार राखे । उनले अब राजनीतिक प्रभाव कम हुँदै गएकोले विश्वविद्यालय राम्रो बन्छ भनेर आशावादी बन्न अनुरोध गरे ।
त्यसैगरी समूहगत छलफलमा सप्तगण्डकी बहुमुखी क्याम्पसका प्राध्यापक डा कपिलदेव सुवेदीले वार्षिक प्रणालीका कार्यक्रम भन्दा क्याम्पसहरुमा वार्षिक प्रणालीमा विद्यार्थीहरुको पढाइ छाड्ने क्रम बढी रहेको बताए । उनले भने, ‘परिवारबाट आर्थिक सहयोग भएको र धेरै खर्च गरिएका सेमेस्टरमा कम विद्यार्थीले मात्र पढाइ छाड्ने गरेका छन् ।’
त्यस्तै लक्ष्मी माध्यमिक विद्यालय जगतपुरका प्रधानाध्यापक ईश्वरीप्रसाद सापकोटाले विद्यालयहरुमा पनि विद्यार्थीको पढाइ छाड्ने क्रम बढ्नुमा बालबालिकाको आर्थिक सामाजिक अवस्थाको बारेमा अध्ययन गर्नुपर्ने बताए ।
सापकोटाले अहिले युवाले देशमा कसैलाई पनि विश्वास गर्न छाडेको बताए । उनले अहिले एसईईको नतिजामा ४०० भन्दा बढी विद्यार्थीको नतिजामा त्रुटि हुनु नै लाजमर्दाे विषय भएको विचार राखे ।
सप्तगण्डकी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष टेकबहादुर थापाको अध्यक्षतामा भएको गोष्ठीमा सञ्चालक समितिका उपाध्यक्ष रमाकान्त सापकोटा, सप्तगण्डकी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख खिमलाल दाहाल, भरतपुर महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष परमेश्वर खनाललगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा अन्य वक्ताहरुले युवाहरुको विदेश पलायनले गर्दा विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षा प्रभावित बनेको बताए ।

