भरतपुर , भदौ २९ – भरतपुर–१२ स्थित वसन्त टोल विकास संस्थाको अध्यक्षमा पुनः भीमबहादुर गुरूङ चयन भएका छन् । शनिबार सम्पन्न बाह्रौं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनले गुरूङको नेतृत्वमा एघार सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
दुई वर्षे कार्यकालको लागि गठित समितिको उपाध्यक्षमा गोविन्द बराल, सचिवमा देवी शर्मा बराल, कोषाध्यक्ष महेन्द्रकुमार श्रेष्ठ चयन भएका छन् । कार्यसमिति सदस्यहरूमा भने पदमराज गौतम, रेशमलाल सुवेदी, जयकृष्ण दाहाल, चन्द्रकला रिजाल, सावित्री शाही, तुलसा अधिकारी र दीक्षा वाग्ले चयन भएका छन् ।
सोही अवसरमा संस्थाले ८० वर्ष नाघेका चारजना ज्येष्ठ नागरिकलाई सम्मान गरको थियो । उनीहरूलाई भरतपुर महानगरपालिका वडा नं.१२ का अध्यक्ष लेखराज पन्तको उपस्थितिमा सम्मान गरिएका हो । संस्थाले संस्थाको भवन निर्माणको लागि जग्गा दान गरेकी टङ्कुमाया घिमिरेसहित चन्द्रमाया मरहठ्ठा, पदमपाणि सुवेदी र श्यामप्रसाद अधिकारीलाई सम्मान गरेको हो ।
उनीहरूलाई दोसल्ला ओढाउनुका साथै फलफूल हस्तान्तरण गरेर सम्मान गरिएको हो । साथै सोही अवसरमा संस्थामा प्रवेश गरेका सात जना नयाँ सदस्यलाई टीका र खादा लगाएर स्वागत गरिएको थियो । वि.सं. २०६० सालमा स्थापना भएको संस्थामा ११३ घरधुरी आवद्ध छन् । सोही कार्यक्रममा हाल सम्म भए गरेका काम र आगामी दिनमा गरिन लागेका कामका बारेमा समेत जानकारी गराइएको थियो ।

