कक्षा १० अन्तर्गत सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (SEE) 2081 को नतिजा आज साँझ ५:३० बजे सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठीमिले एक सूचना जारी गर्दै नतिजा प्रकाशनको समय निर्धारण गर्दै यसपटक नतिजा हेर्नका लागि विभिन्न सेवा प्रदायक संस्थाहरूलाई आधिकारिक अनुमति दिएको छ। बोर्डले नतिजा प्रकाशन प्रक्रिया सरल, छिटो र सर्वसुलभ बनाउने उद्देश्यले सरकारी तथा निजी दुवै क्षेत्रका प्रतिष्ठित संस्थाहरूसँग सहकार्य गरेको जनाएको छ।
नतिजा SMS, IVR तथा Website मार्फत एकसाथ सार्वजनिक गरिनेछ। नेपाल टेलिकमले १६०० नम्बरमार्फत SMS, USSD तथा भ्वाइस सेवा (IVR) को माध्यमबाट नतिजा दिनेछ। यसबाहेक, जानकी टेक्नोलोजी प्रा.लि. (३५००१), आकास टेक प्रा.लि. (३१००३), स्विफ्ट टेक्नोलोजी प्रा.लि. (३४४५५), र अल स्टार आईटी सोलुसन्स प्रा.लि. (३४९४९) बाट पनि SMS पठाएर नतिजा थाहा पाउन सकिने व्यवस्था गरिएको छ।
यसपटकको नतिजा विभिन्न वेबसाइटहरूबाट पनि सजिलै हेर्न सकिनेछ। परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक वेबसाइट www.see.gov.np र राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np प्रमुख स्रोत हुनेछन्। नेपाल टेलिकमले पनि आफ्नै साइट www.see.ntc.net.np मा नतिजा उपलब्ध गराउनेछ। यस्तै, कान्तिपुर पब्लिकेसन्सको www.ekantipur.com, एजु सञ्जालको www.see.edusanjal.com, ईसेवाको see.esewa.com.np, खल्तीको khalti.com/app, कलेज इन्फो नेपालको collegeinfonepal.com/see, द कनेक्ट प्लसको theconnectplus.com, बाहाखरीको 12khari.com, कलेज नेपालको collegesnepal.com/see_result, एनसेलको एप मार्फत (https://bit.ly/GetNcellApp), स्विफ्ट टेक्नोलोजीको swifttech.com.np/see-result, निमा एकेडेमीको result.neemaacademy.com र स्मार्टकाइ नेपालको see.mypay.com.np मा पनि विद्यार्थीहरूले नतिजा सहजै हेर्न सक्नेछन्।
विद्यार्थीहरूले आफ्नो परीक्षाफल हेर्नको लागि “SEE Symbol Number” टाइप गरी सम्बन्धित सर्टकोडमा पठाउनुपर्नेछ। उदाहरणका लागि, नेपाल टेलिकमको सेवा प्रयोग गर्न चाहनेले मोबाइलमा SEE 12345678 टाइप गरी १६०० मा पठाएपछि नतिजा प्राप्त गर्न सक्नेछन्।
बोर्डले सूचनामार्फत सबै अभिभावक, विद्यार्थी, शिक्षक तथा सरोकारवालालाई निर्धक्क भएर आधिकारिक माध्यमहरू प्रयोग गरी नतिजा हेर्न अनुरोध गरेको छ। विद्यार्थीहरूको दीर्घ प्रतीक्षा आज साँझ टुंगिँदैछ, र सम्पूर्ण देशभरिका लाखौं विद्यार्थी, शिक्षक तथा अभिभावकहरू यो घडीको प्रतीक्षामा छन्।