प्रविधिमैत्री शिक्षक समाज नेपाल, जिल्ला कार्यसमिति चितवनको प्रथम जिल्ला साधारणसभा तथा अधिवेशन २०८३ साल कात्तिक १४ गते शनिबार खैरहनी नगरपालिका–१, बहेरी स्थित कंकाली माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।
जिल्ला कार्यसमितिका अध्यक्ष रामेश्वर अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका केन्द्रीय समितिका महासचिव देविप्रसाद शर्मा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला समितिका सचिव विष्णुहरि कँडेलले गर्नुभएको थियो ।
कार्यक्रममा केन्द्रीय समितिका पदाधिकारी, विभिन्न प्रदेशका सल्लाहकार तथा समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
आज गठन भएको नयाँ जिल्ला कार्यसमितिको अध्यक्षमा दुर्गाकुमारी लामिछाने, उपाध्यक्षमा महेश्वर झा, सचिवमा हरिबहादुर खवास, कोषाध्यक्षमा शिवप्रसाद अर्याल तथा प्राविधिक समितिको संयोजकमा बुद्धिबहादुर खड्का चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरूमा किरण भुसाल, कुमार अधिकारी, विनिता श्रेष्ठ, रोशना अधिकारी, सुनीता लामिछाने, गोविन्द पौडेल र एन्डिला रिजाल चयन हुनुभएको छ ।
यसैगरी साधारण सभाले वाग्मती प्रदेश प्रतिनिधिका रूपमा पाँच जनालाई चयन गरेको छ । चयन हुने प्रतिनिधिहरूमा पूर्णबहादुर पुरी, रामहरि भण्डारी, प्रदीप काफ्ले, विष्णुहरि कँडेल र प्रकाश चन्द्र भट्टराई रहनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष दुर्गाकुमारी लामिछानेले शिक्षकहरूलाई प्रविधिमैत्री बनाउँदै शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग विस्तार गर्ने आफ्नो प्राथमिकता रहेको बताउनु भएको छ । उहाँले शिक्षकहरूको क्षमता विकास, डिजिटल शैक्षिक सामग्री निर्माण तथा प्रयोग र आपसी सहकार्यलाई अघि बढाउँदै समाजलाई सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
समाजको भावी योजना अन्तर्गत शिक्षकहरूका लागि प्रविधि सम्बन्धी तालिम, कार्यशाला तथा अभिमुखीकरण सञ्चालन गर्ने, डिजिटल साक्षरता अभिवृद्धि गर्ने, कृत्रिम बुद्धिमत्ता (एआई) लगायत नवीन प्रविधिको शैक्षिक प्रयोगलाई प्रोत्साहन गर्ने र जिल्लाका सबै स्थानीय तहका शिक्षकलाई संस्थागत अभियानमा जोड्ने योजना रहेको छ ।
नयाँ नेतृत्व चयनसँगै समाजको संगठनात्मक सुदृढीकरण, शिक्षकहरूबीच एकता र सहकार्य अभिवृद्धि तथा जिल्लाको शैक्षिक क्षेत्रमा प्रविधिको प्रभावकारी प्रयोग विस्तार हुने अपेक्षा गरिएको छ ।

