काठमाडौं । चितवनको टिकौली जंगलमा सडक दुर्घटनाबाट वन्यजन्तु जोगाउने उद्देश्यले करिब २ किलोमिटर लामो फ्लाइओभर-भायाडक्ट निर्माण हुने भएको छ ।
पूर्व–पश्चिम राजमार्गको हेटौंडा–नारायणगढ खण्ड स्तरोन्नतिको योजनाअन्तर्गत टिकौली जंगलमा सवारीसाधन माथिबाट र वन्यजन्तु तलबाट आवतजावत गर्न सक्ने गरी फ्लाइओभर निर्माण गर्न लागिएको हो ।
यसका लागि सडक विभागअन्तर्गत आयोजना निर्देशनालय (एडीबी) ले हेटौंडाको राप्तीपुलदेखि चितवनको गोद्राङसम्मको करिब ७० किलोमिटर सडक विस्तार तथा स्तरोन्नतिका लागि ग्लोबल टेण्डर आह्वान गरेको छ ।
लामो समयदेखि दुई लेनमा सञ्चालन हुँदै आएको यो सडक अब चार लेनमा विस्तार गर्न लागिएको छ ।
एशियाली विकास बैंक (एडीबी) को ऋण सहयोग तथा नेपाल सरकारको लगानीमा सञ्चालन हुने आयोजनाको अनुमानित लागत करिब ४२ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कुल लागतको १८ प्रतिशत नेपाल सरकारले व्यहोर्नेछ भने बाँकी ८२ प्रतिशत एडीबीको ऋणबाट जुटाइनेछ ।
आयोजनाअन्तर्गत सडक विस्तारसँगै टिकौली क्षेत्रमा निर्माण हुने फ्लाइओभरलाई वन्यजन्तु संरक्षणसँग जोडिएको विशेष संरचनाका रूपमा अघि सारिएको छ । सडक विभागका अनुसार संरक्षित वन क्षेत्रमा निर्माण हुन लागेको यो नेपालकै पहिलो फ्लाइओभर हुनेछ ।
पथलैया–हेटौंडा–नारायणगढ सडक आयोजनाका इन्जिनीयर नारायण पन्थीका अनुसार ७० किलोमिटर सडकलाई तीन छुट्टाछुट्टै प्याकेजमा विभाजन गरेर ठेक्का प्रक्रिया अघि बढाइएको छ ।
पहिलो प्याकेजमा राप्तीपुलदेखि लोथरपुलसम्मको ३९.९२ किलोमिटर सडक समेटिएको छ । दोस्रो प्याकेज लोथरपुलदेखि टिकौलीसम्मको २६.१८ किलोमिटर र तेस्रो प्याकेज टिकौलीदेखि गोद्राङसम्मको ३.८२ किलोमिटर सडकका लागि तोकिएको छ।
टिकौलीमा निर्माण हुने फ्लाइओभर तेस्रो प्याकेजभित्र पर्नेछ। इच्छुक निर्माण कम्पनीहरूले असोज २६ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
योजनाअनुसार टिकौली जंगल क्षेत्रमा पूर्वतर्फ जाने र पश्चिमतर्फ आउने सवारीका लागि अलग–अलग फ्लाइओभर निर्माण गरिनेछ । दुवै संरचनाको कुल लम्बाइ एप्रोच सडकबाहेक १.९९२ किलोमिटर हुनेछ ।
फ्लाइओभरको दुवैतर्फ थप ६००–६०० मिटर लामो एप्रोच सडकसमेत निर्माण गरिनेछ । यसरी मुख्य संरचनामा सवारीसाधन प्रवेश र बाहिरिने व्यवस्था मिलाइनेछ ।
टिकौलीमा फ्लाइओभर निर्माण गर्नुको मुख्य उद्देश्य सडकमा हुने वन्यजन्तुको मृत्युदर घटाउनु हो । व्यस्त राजमार्गका कारण जंगल वारपार गर्ने क्रममा सवारीसाधनको ठक्करबाट वर्षेनी वन्यजन्तु मर्ने गरेका कारण सडकलाई वन्यजन्तुमैत्री बनाउने अवधारणाअनुसार यो संरचना प्रस्ताव गरिएको हो ।
फ्लाइओभरमाथिबाट सवारीसाधन गुड्नेछन् भने त्यसको तलबाट वन्यजन्तुले सुरक्षित रूपमा जंगलको एक भागबाट अर्को भागमा आवतजावत गर्न सक्नेछन् । यसका लागि संरचनामुनि पर्याप्त उचाइ राखिनेछ ।
योजनाअनुसार वन्यजन्तुको सहज आवागमनका लागि करिब ७ देखि ७.५ मिटरको भर्टिकल क्लियरेन्स अर्थात् उचाइ कायम गरिनेछ । यसले ठूला वन्यजन्तुसमेत संरचनामुनिबाट आवतजावत गर्न सक्ने वातावरण बनाउने अपेक्षा गरिएको छ ।
एकतर्फी फ्लाइओभरको चौडाइ ११ मिटर रहनेछ । त्यसमा ७.५ मिटर भाग सवारीसाधन सञ्चालनका लागि प्रयोग हुनेछ भने २.७५ मिटर चौडाइको फुटपाथ पनि रहनेछ । बाँकी भागमा आवश्यक संरचनागत व्यवस्था गरिनेछ ।
इन्जिनियर पन्थीका अनुसार टिकौली जंगलमा वन्यजन्तुको जोखिमलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय मापदण्डअनुसार फ्लाइओभरको डिजाइन गरिएको हो । सडकमा सवारीको चाप बढ्दै जाँदा वन्यजन्तुको आवागमनमा अवरोध नहोस् उद्देश्यले सडकलाई उनीहरूको प्राकृतिक मार्गभन्दा माथि लैजाने अवधारणा अपनाइएको हो ।
करिब २ किलोमिटर लामो फ्लाइओभर संरचनामा ६७ वटा पिलर रहनेछन् । यसको अनुमानित लागत मात्रै करिब ७ अर्ब रुपैयाँ रहेको छ ।
हेटौंडा–नारायणगढ सडकको स्तरोन्नति फ्लाइओभरमा मात्र सीमित रहनुका साटो हाल दुई लेनमा सञ्चालन भइरहेको सडकलाई कम्तीमा चार लेनमा विस्तार गरिनेछ ।
समग्र सडक खण्डको चौडाइ क्षेत्रअनुसार फरक–फरक हुने गरी डिजाइन गरिएको छ । केही सहरी क्षेत्रमा सडक ५० मिटरसम्म फराकिलो हुनेछ। सहरी क्षेत्रमा पर्ने १९.३०५ किलोमिटर सडकलाई ६ लेनसम्म विस्तार गर्ने योजना छ । मुख्य सडकको दुवैतर्फ सर्भिस लेनसमेत निर्माण गरिनेछ ।
अर्धसहरी क्षेत्रमा पर्ने १६.७ किलोमिटर सडक ३७.४ मिटर चौडाइको बनाइनेछ । त्यसैगरी ग्रामीण तथा वन क्षेत्रअन्तर्गत पर्ने ३३.९१५ किलोमिटर सडक २४ मिटर चौडाइमा विस्तार गरिनेछ ।
यसरी एउटै राजमार्ग खण्डमा क्षेत्रको प्रकृति, सवारी चाप र बस्तीको अवस्थाअनुसार सडकको चौडाइ निर्धारण गरिएको छ । सडक विस्तारसँगै हेटौंडा–गोद्राङ खण्डमा विभिन्न संरचनागत कामसमेत गरिनेछ। फ्लाइओभरबाहेक पुल, कल्भर्ट तथा अण्डरपास निर्माण गर्ने योजना छ ।
आयोजनाअन्तर्गत १० वटा नयाँ पुल र १० वटा बक्स कल्भर्ट निर्माण गरिनेछ। त्यस्तै ५ वटा ओभरपास तथा अण्डरपास संरचना निर्माण गर्ने योजना छ ।
सिमलटाँडीमा अण्डरपास निर्माण गरिनेछ भने खैरहनी, शान्ति चोक र भानु चोकमा समेत गरी थप पाँचवटा अण्डरपास बनाइनेछ । यसका साथै हाल सञ्चालनमा रहेका ११ वटा पुलको पनि स्तरोन्नति गरिनेछ ।
यसले सडकको क्षमता विस्तारसँगै स्थानीय बस्ती, पैदलयात्री र सवारीसाधनको आवागमनलाई थप व्यवस्थित गर्ने अपेक्षा गरिएको छ । सडक विभागले ठेक्का सम्झौता भएको मितिदेखि ४२ महिनाभित्र सम्पूर्ण निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
निर्माण सम्पन्न भएपछि पनि सम्बन्धित निर्माण कम्पनीले पाँच वर्षसम्म सडक तथा संरचनाको मर्मतसम्भार गर्नुपर्ने व्यवस्था गरिनेछ ।
हेटौंडा–नारायणगढ खण्ड पूर्व–पश्चिम राजमार्गको महत्वपूर्ण हिस्सा भएकाले यसको स्तरोन्नतिले लामो दूरीका सवारीसाधनको आवागमन सहज बनाउने अपेक्षा गरिएको छ ।
सडक विस्तारसँगै सहरी क्षेत्रमा सवारी व्यवस्थापन, अर्धसहरी क्षेत्रमा आवागमनको क्षमता र वन क्षेत्रमा वातावरणीय तथा वन्यजन्तु सुरक्षालाई समेत आयोजनाले समेटेको छ ।

