९ असोज, माडी । माडी नगरपालिका–८ स्थित जनजीवन माध्यमिक विद्यालयको नयाँ विद्यालय व्यवस्थापन समितिले पूर्णता पाएको छ ।
गत भदौ ४ गते आयोजित अभिभावक भेलाबाट चार जना अभिभावक प्रतिनिधि छनोट भइसकेपछि थप दुई जना सदस्य मनोनयन गरी, मनोनित सदस्यमध्येबाट कृष्णप्रसाद अधिकारीलाई सर्वसम्मतिले अध्यक्ष चयन गरेसँगै समितिले पूर्णता प्राप्त गरेको हो ।
अभिभावक भेलाको निर्वाचन प्रक्रियाबाट श्याम पौडेल, महादेव आचार्य, लक्ष्मी लामिछाने र रीता गौतम रानाभाट विद्यालय व्यवस्थापन समितिको अभिभावक सदस्यका रूपमा छनोट भएका थिए ।
त्यस पश्चात् प्रचलित शिक्षा ऐन तथा नियमावलीमा भएको कानुनी व्यवस्था बमोजिम ६०० भन्दा बढी विद्यार्थी अध्ययनरत सो विद्यालयमा थप दुई जना सदस्यका रूपमा उषा गायक र कृष्णप्रसाद अधिकारीलाई मनोनयन गरिएको थियो । यसरी चयन भएका मनोनित सदस्यहरूमध्येबाट अनुभवी व्यक्तित्व कृष्णप्रसाद अधिकारीलाई समितिको अध्यक्षको जिम्मेवारी सुम्पिएको विद्यालयले जनाएको छ ।

