चितवन , असार २३ – लगातारको वर्षाका कारण नारायणी नदिमा आएको बाढीले भरतपुर–३ को न्युरोड र नगरवन जोड्ने झोलुंगे पुल बगाएको छ । शनिवार राति साढे ११ बजेको समयमा बाढीले झोलुंगे पुलको दुवै तर्फको पिल्लर भत्काइ पूर्ण रुपमा क्षति भएको हो ।त्यसैगरी शनिबार राती भरतपुर महागनरपालिका भित्रका नारायणी नदीमा आएको बाढीको जोखिममा परेका १७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार भरतपुर–१६ गुम्बाचोकबाट पुरुष २६ र महिला ३३ गरी जम्मा ५९ जनालाई सुरक्षित स्थानमा सारिएको हो ।
त्यस्तै भरतपुर–३ स्थितमा रहेको हाम्रो घर नामक संस्थामा रहेका २४ जना बालबालिका र दुई जना महिला कामदार गरी जम्मा २६ जनालाई नजिकै रहेको एग्रोभेटको भवनमा सारिएको छ भने भरतपुर–१७ गोब्रेनीस्थितमा १७ घरधुरीका ५४ जना मानिसहरुलाई आफन्तहरुको घरमा सुरक्षित साथ सारिएको छ ।
यसैगरी भरतपुर–३ बालकुमारी नर्सिङ कलेजको भवनमा बस्ने ४ जनालाई (३ पुरुष, १ महिला)लाई आफन्तको घर र भरतपुर–१ देवघाटस्थित नारायणी नदीको किनारमा रहेको कुटी र स्थानीय बासिन्दा गरी जम्मा २८ जना (२५ पुरुष, ३ महिला)लाई नजिकैको मारवाडी समाजको भवनमा सुरक्षित साथ सारिएको जनाइएको छ ।

