प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो परिवारमाथि प्रश्न उठाएर आफूलाई ‘डिप्रेस’ बनाउन खोजेको बताएका छन्।
प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा मंगलबार बोल्दै प्रधानमन्त्री प्रचण्डले आफूलाई ‘डप्रेस’ बनाउन छोरी गंगा दाहालमाथि विभिन्न विषय जोडेर प्रहार गरिएको बताए।
कतिपयलाई प्रचण्डलाई ‘डिप्रेस’ नबनाएसम्म व्यवस्था नउल्टिने भन्ने सोचले प्रश्न उठाएको उनले बताए।
‘परिवारको सदस्य घट्दै गएर तीन जना भएका छौं। एउटा छोरी छ, उसलाई जोडेर उचालेको छ,’ उनले भने, ‘यो सिष्टममाथिको हमला हो। प्रचण्डलाई डिप्रेस नबनाएसम्म सिष्टम उल्टिदैन भन्ने छ।’
स्वतन्त्र सांसद अमरेशकुमार सिंहलगायतले गंगा दाहालमाथि विभिन्न आरोप लगाउँदै ‘हमला’ गरेको उनको भनाइ थियो। प्रचण्डको कान्छी छोरी गंगा उनको स्वकीय सचिवसमेत हुन्।
यस्तै एनसेल कर छली गरेको प्रकरणमा प्रधानमन्त्री प्रचण्डको संलग्नता भन्ने विषयमा पनि उनले केही कुरा राखेका थिए।
अहिले एनसेलको ८० प्रतिशत शेयर खरिद गरेका सतिशलाल आचार्यलाई आफूसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समेत चिनेको उनले बताए।
आफ्नी श्रीमती बिरामी हुँदा सिंगापुर लग्दा उनले हेरचाह गर्न सघाएको उनको भनाइ थियो। चिने पनि उनले जे गरे पनि छुट नदिइने बताए।
‘मेरो श्रीमती बिरामी हुँदा सिंगापुर गएको हो, बसेको छु। केपी पनि बस्नु भएको छ। शेरबहादुर पनि बस्नु भएको छ,’ उनले भने, ‘तर यसको अर्थ उसले जे गर्छ, छुट दिने होइन। राष्ट्रको निमित्त हामी एक छौं।’