पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका व्यक्तिको शव बुझ्न गण्डकी अस्पताल पोखरामा आफन्तको भीड लागेको छ ।
स्थानीय प्रशासनले सोमवार बिहानदेखि शव आफन्तको जिम्मा लगाउँदैछ । कास्कीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) टेकबहादुर केसीले बिहान ९ बजेदेखि सनाखत भएका शव परिवारलाई बुझाउने व्यवस्था गरिएको बताए ।
‘पोखरा आसपासका शव घरै पुर्याउने व्यवस्था गरेका छौं, सबै प्रक्रिया पुगेपछि घरसम्मै पुर्याइनेछ,’ उनले भने, ‘विदेश र काठमाडौं बाहिरका शवलाई हेलिकप्टरबाट काठमाडौं पठाइनेछ ।’
प्रहरीका अनुसार हालसम्म ६६ शव संकलन भइसकेका छन् भने अन्यको खोज र उद्धार कार्य जारी छ । विमानमा यात्रु र चालक दलका सदस्य गरी ७२ जना सवार थिए ।
मौसमी खराबीका बाबजुद पनि उद्धार कार्य जारी रहेको सीडीओ केसीले बताए ।

