सरकारले कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।
शुक्रवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । साथै मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
‘कोशी नामाकरण सन्दर्भमा कोशी प्रदेशमा भएको आन्दोलनका क्रममा पदमबहादुर लिम्बूको निधन हुन पुग्यो । त्यसपछि आन्दोलनकारीसँगको छलफलबाट छानबिन समिति बनेको थियो । आन्दोलनका क्रममा निधन भएका लिम्बूलाई शहीद घोषणा गर्ने र क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको छ,’ उनले भनिन् ।
प्रवक्ता शर्माले नामकरणसम्बन्धमा भइरहेको आन्दोलन र विरोधका सम्बन्धमा प्रदेशसँग वार्ता गरी अघि बढ्न केन्द्र सरकारले सहजीकरण गर्ने निर्णय भएको पनि बताइन् ।

