फरार पूर्वमन्त्री एवम् सांसद टोपबहादुर रायमाझी काठमाडौंबाट पक्राउ परेका छन्। ११ दिनअघि अर्घाखाँचीबाट बुटवल फर्किने क्रममा रायमाझी फरार भएका थिए।
वैशाख २० गते पक्राउ पुर्जी जारी भएको सूचना बाहिरिएकै साँझ रायमाझी भागेका थिए।
बुटवलबाट फरार भएका उनलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले बुढानिलकण्ठस्थित एक घरबाट पक्राउ गरेको हो।
रायमाझीलाई प्रहरीले शनिबारदेखि नै ट्र्याक गरेको थियो। प्रहरी उच्च स्रोतले भन्यो, ‘हामीले हिजैदेखि ट्रयाक गरेका थियौं। उहाँ पटक पटक बाटो परिवर्तन गर्दै मध्यराति काठमाडौं छिर्नु भएको थियो। आज दिनभर लगाएर पत्ता लगायौं।’
टोपबहादुरलाई पक्राउ गर्न प्रहरी महानिरीक्षक वसन्त कुँवरले विशेष टोली परिचालन गरेका थिए। आईजीपी कुँवरलाई नै फोन गरेर आफैं उपस्थित हुने बताएका रायमाझी पक्राउ नपर्दा उनीमाथी दबाब बढेको थियो।
आफैं उपस्थित हुने बताएका रायमाझी भागेपछि एमालेले पार्टीबाट निलम्बन गरिसकेको छ। रायमाझीले केहीदिन अघि मात्रै संसदमा बिरामी भएको पत्र पठाएका थिए।
प्रहरीले उनको पत्र संसदमा लैजाने व्यक्तिको समेत खोजि गरेको थियो। संसदबाट सीसीटिभी फुटेज लगेर समेत अनुसन्धान गरेको थियो।

