काठमाडौँ– नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर ठगी गरेको आरोपमा पक्राउ परेकाहरू थप दुई दिन प्रहरी हिरासतमा नै रहने भएका छन्। २७ करोड रुपैयाँ ठगी गरेको आरोपमा मुद्दा दर्ता गर्ने अन्तिम तयारी भइरहेका बेला काठमाडौँ जिल्ला अदालतले उनीहरूलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो।
यो प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन्। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहितका आरोपितहरूलाई मंगलबार जिल्ला अदालत काठमाडौँ पुर्याइएको थियो।
उनीहरू सबैविरुद्ध सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराउने तयारी गरेको छ। हाल पक्राउ पर्न नसकेका थप १७ जनासमेत गरी ३३ जनाविरुद्ध मुद्दा चलाउने तयारी गरिएको प्रहरीको भनाइ छ।
यो प्रकरणमा पहिलो चरणको अनुसन्धान सकिएपनि मुद्दा दर्ता भएपछि पनि अनुसन्धान जारी रहने प्रहरीले जानकारी दिएको छ।

