काठमाडौं— जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बिहीबारदेखि नियमित सुनुवाइ गर्ने भएको छ ।
न्यायाधीश राजकुमार खतिडवाको इजलासले बिहीबार सुनुवाइ गर्दै यस मुद्दाको सुनुवाइ नियमित हुने जनाएको हो ।
साथै, अदालतले पीडित किशोरी गौशाला-२६ की आमाको जन्ममिति फरक परेको भन्दै प्रमाणीकरणका लागि आदेश दिएको छ ।
नाबालिगको आमाको जन्ममिति एउटा कागजातमा २०५३ र अर्को कागजातमा ०३३ रहेको पाइएपछि जन्ममिति प्रमाणिकरण गर्न भनिएको हो ।
लामिछाने विश्वकप क्रिकेट प्रतियोगिता छनोटका लागि जिम्बावे प्रस्थान गरेपछि मुद्दाले निरन्तरता पाउन सकेको थिएन । अब भने उक्त मुद्दाको सुनुवाइ निरन्तर हुने भएको हो ।
यसअघि, नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका काठमाडौंले लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
सर्वोच्च अदालतले लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेश गरेको थियो ।

