४ वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन् । शुक्रबार सञ्चालक समिति बैठकमा श्रेष्ठले राजीनामा घोषणा गरेका हुन् ।
धितोपत्र ऐन अनुसार बोर्ड अध्यक्षले राजीनामा सरकार समक्ष बुझाउनुपर्छ । सोही अनुसार श्रेष्ठले शनिबार अर्थमन्त्री समक्ष राजीनामा दिने जानकारी गराएको धितोपत्र बोर्डका एक सञ्चालकले बताए ।
शुक्रबारको बोर्ड बैठक सकिएपछि श्रेष्ठले सञ्चालकरूलाई जानकारी दिँदै सरकारलाई सहयोग गर्न आफूले राजीनामा दिन लागेको बताएको ती सञ्चालकको भनाइ छ ।
श्रेष्ठलाई सरकारले १० मंसिर २०८१ मा धितोपत्र बोर्ड कार्यकारी अध्यक्ष नियुक्त गरेको थियो ।
साथै, शुक्रबारको बैठकले हिमालयन सेक्युरिटिज अर्थात् ब्रोकर नम्बर ९६ लाई स्पष्टीकरण सोध्ने निर्णय गरेको पनि ती सञ्चालकले बताए । दीपक भट्ट र शाहिल अग्रवालको गैरकानुनी सेयर कारोबारमा सहभागी भएको पाएपछि बोर्डले हिमालयन सेक्युरिटिजलाई पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको ती सञ्चालकले बताए ।
दीपक भट्टको सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानमा श्रेष्ठ पनि तानिएपछि सरकारले उनलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरेको थियो । सोही अनुसार श्रेष्ठले राजीनामा दिएका हुन् ।

