काठमाडौँ : ललितपुरको बालकुमारीमा आज भएको प्रदर्शन र झडपमा मृत्यु भएकामध्ये एकजनामाथि गोली लागेको पुष्टी भएको छ। अर्का एकजनाको मृत्युको कारण खुलेको छैन।
‘एक मृतकको नाइटोमुनि गोली लागेको छ, अर्का मृतकको छातीमा दाग देखिएको छ, पोष्टमार्टमपछि मात्रै यकिन पुष्टी हुन्छ’, ललितपुरका प्रजिअ रुद्रप्रसाद पण्डितले भने।
मृत्यु हुनेमा डोटीका वीरेन्द्र साह र दैलेखका सुजन रावत रहेका छन्। उनले सुजन राउतको छातीमा दाग रहेको र साहको भने नाइटोमुनि गोली लागेको पाइएको पनि बताए। सो क्रममा प्रहरीसहित ७ जना घाइते छन्। जसमा सशस्त्र प्रहरीका ४ जना घाइते भएका उनले बताए।
७३ जना पक्राउ
घटनामा प्रहरीले ७३ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ। कोरिया जानका लागि लिइने रोजगारी अनुमति प्रणाली(इपिएस)को परीक्षा दिन नपाएको भन्दै युवाहरुले आज प्रदर्शन गरेका थिए।
प्रदर्शनका क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने गाडीमा आगजनी गरिएको थियो। प्रदर्शन नियन्त्रणमा लिन प्रहीले अश्रुग्यास र हवाइ फायर गरेको थियो।

